नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले आफू मुख्यमन्त्री रहँदा बुटवलमा प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अगाडि बढाइएको स्मरण गरे। उनले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे।
प्रदेश राजधानीको विषयलाई लिएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउनुभन्दा दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र प्रदेशको विकासलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे। विकासका साझा एजेन्डामा राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्नसके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो।
लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद आवश्यक रहेको महासचिव पोखरेलको भनाइ थियो।
प्रकाशित: १७ कार्तिक २०८३ ०६:४१ मंगलबार


-600x400.jpg)


