१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

सत्ता चलाउने होइन, देशका लागि राम्रो काम गर्ने प्रतिस्पर्धा गरौं: आरेन राई

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अब दलहरूबीच कसले कति पटक सत्ता चलाउने भन्नेमा नभई कसले देशका लागि राम्रो काम गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव राईले पार्टी अध्यक्ष हर्क साम्पाङको भनाइ उद्धृत गर्दै दलहरूले आफ्नो कार्यशैली बदल्नुपर्नेमा जोड दिएका हुन्।

काठमाडौंको खुलामञ्चमा आयोजित सभामा उनले भने, ‘हाम्रा पार्टी अध्यक्ष हर्क साम्पाङज्यूले भनेजस्तै अब कुन पार्टीले कति पटक सत्ता चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि कुन पार्टीले कति राम्रो काम गरे र देशका लागि कति योगदान दिए भन्ने कुरामा प्रतिस्पर्धा गर्नुपर्छ।’

विगतका कालखण्डमा भएका गल्तीहरूलाई सच्याएर अब नयाँ पुस्ता रूपान्तरणको संकल्पसहित देश निर्माणमा जुट्नुपर्ने उनको भनाइ थियो।

संसद्‌मा पुगेका राष्ट्रिय पार्टीहरूमध्ये आफ्नो दल सबैभन्दा कान्छो रहेको उल्लेख गर्दै उनले मुलुकको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली कांग्रेस कुनै हल्लाका भरमा नभई सहिद तथा योद्धाहरूको त्याग र बलिदानबाट बनेको स्मरण गरे।

महासचिव राईले समृद्ध राष्ट्र निर्माणका लागि अब सबै दलहरू एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै महाधिवेशन सफलताको शुभकामना दिए।

प्रकाशित: १८ आश्विन २०८३ १६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App