१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

रेशमले सुनाए गीत, ‘धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु’

नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले धेरै जनताले मन पराएर भोट दिएका लोकप्रिय नेताहरूलाई झ्यालखानामा थुन्ने राजनीतिक प्रवृत्ति बन्द गर्न माग गरेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संरक्षक चौधरीले मञ्चमै आसीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई देखाउँदै यस्तो आग्रह गरेका हुन्।

विगतमा आफू जेलमा छँदा लामिछानेलाई भेटेको प्रसंग सम्झिँदै उनले भने, ‘धेरै लोकप्रिय भयो र जनताले धेरै मन परायो भने जाने बाटो झ्यालखानामा रहेछ। छातीमा छ लोगो सांसद पदको, बाटो देखायो सरकार कालो कोठरीको, धेरै भोट पाएर होला झ्यालखानामा बन्द छु भन्ने अवस्था आयो। आइन्दा यो कुरा बन्द गरियोस्।’

समारोहलाई सम्बोधन गर्दै उनले सभापति गगन थापाप्रति आशा व्यक्त गरे। ‘हिजो सबै कपाल फुलेर आफूलाई युवा भन्नेहरूले देश बिगारे, अहिले पूरै कपाल काला भएकाहरूले पनि देश बनाउने छनक देखाएका छैनन्,’ चौधरीले भने, ‘अब गगनजी जस्तो आधा कपाल र १०-२० वटा दाह्री फुलेका नेताले देश पक्कै बनाउँछन् भन्ने विश्वास छ।’

कांग्रेसले कमैया मुक्ति र संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले संविधानमा अधिकार लेखिए पनि कार्यान्वयन नभएको गुनासो गरे। उनले प्रश्न गरे, ‘नेपालको संविधानमा ६.७ प्रतिशत रहेका थारुहरू सत्ताको कुर्सीमा कहिले पुग्ने ? हाम्रा थारु सेनापति, प्रधानन्यायाधीश र मुख्यसचिव कहिले हुने ?’

उनले २०२७ सालमै योजना बनेको र जेनेभाको नक्सा ल्याइएको ऐतिहासिक टीकापुरलाई ७७ जिल्ला बनाउँदा छुटाइएको भन्दै टीकापुरलाई तत्काल छुट्टै जिल्ला घोषणा र सीमांकन गर्न माग समेत गरे।

३५० भन्दा बढी राष्ट्रिय गीत गाएको उल्लेख गर्दै चौधरीले धोती, टोपी, माला र सबै जातजातिको पहिचान मिलेर नै नेपाल सुन्दर बन्ने बताए।

प्रकाशित: १८ आश्विन २०८३ १६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App