१८ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

पूरै कपाल काला भएकाहरूले पनि देश बनाउने छनक देखाएनन्: रेशम

नागरिक उन्मुक्ति पार्टी नेपालका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै नयाँ पुस्ताका नेतृत्वले पनि देश बनाउने कुनै छनक नदेखाएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संरक्षक चौधरीले पुराना पाका नेतादेखि नयाँ पुस्तासम्मको कार्यशैलीमाथि एकसाथ प्रश्न उठाएका हुन्।

काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे। अहिले कैलाझुङ्गा भएका, पूरै कपाल काला भएकाले पनि देश बनाउने कुनै छनक देखाएका छैनन्।’

उनले पुराना र नयाँ दुवै अतिवादबाट देश बन्न नसक्ने भन्दै अबको आशा मध्यम पुस्तामाथि रहेको बताए। ‘अब आधा-आधि कपाल फुलेका, गगनजी तपाईंको जस्तो १०-२० वटा दाह्री र ५०-६० वटा कपाल फुलेका नेताले देश पक्कै बनाउँछन् भन्ने मलाई विश्वास छ,’ उनले भने।

समारोहको मञ्चमा आसीन रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै उनले लोकप्रिय मत पाएर संसद्‌मा पुगेका नेताहरूलाई जेल हाल्ने राजनीतिक प्रतिशोधको खेल तत्काल बन्द हुनुपर्ने धारणा समेत राखे।

यसैगरी, संविधानमा अधिकार लेखिए पनि ६.७ प्रतिशत जनसंख्या रहेको थारु समुदाय राज्यका उच्च ओहोदाबाट अझै वञ्चित रहेको भन्दै उनले ऐतिहासिक टीकापुरलाई तत्काल छुट्टै जिल्ला घोषणा गर्न माग गरे।

प्रकाशित: १८ आश्विन २०८३ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App