नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्राप्त भएको मतको विश्लेषण गर्नुपर्ने माग गरेका छन्।
रिपोटर्स क्लब नेपालले गरेको साक्षातकार कार्यक्रममा उनले रास्वपाले अभुतपूर्व मत ल्याएको देखिएपनि यसको कारण भने खोज्न बाँकी रहेको बताए।
'रास्वपाले राम्रो जनमत प्राप्त गरेको छ। दुई तिहाईको सफलता प्राप्त गरेको छ। जनताले पनि रास्वपालाई अभूतपूर्व मत प्रदान गरेका छन्। जनताले रास्वपालाई अभुतपूर्व मत प्रदान गरेको देखिन्छ। यद्धपी त्यो मत कसरी प्राप्त भयो भन्ने कुराको छलफल गर्न र जाँच्न बाँकी नै छ।' उनले भने, 'कुनै निर्वाचन क्षेत्रको मतपत्रहरुलाई अझै राम्रोसँग केमिकल जाँच गरौं भन्न चाहन्छु। त्यसपछि के भएको हो भन्ने कुरा अझै गहिरिएर जान्छ।'
उनले यसपाली सदनभित्र आफू नरहेपनि एमालेको आवाज दबाउने चेष्टा गरे सडकमा उत्रने चेतावनी दिए। उनले भने, सुशासनको सवालमा सार्वजनिक पदमा बस्नेहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानून बन्नुपर्छ। २०४८ सालयता सबै सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति विवरण छानबिन गरौं।’
यो निर्वाचनमा एमालेले राम्रो नतिजा ल्याउने आशा गरेको भएपनि त्यस्तो परिणाम आउन नसकेको उनले स्विकारेका छन्।
‘योभन्दा राम्रो पोजिसन आउने भन्ने थियो। एमालेप्रति वितृष्णाको स्वर सामना गर्नुपरेको थिएन। जनताको समर्थन नै पाएका थियौं। परिणाम आएपछि जनतालाई धन्यवाद दिन जाँदापनि जनताले साथ दिएका छन्। जनताले अन्त भोट हालेकोजस्तो लाग्दैन। परिणामलाई हेर्दा हामीलाई मत धेरै परेन।’
एमालेले ६ महिनाअघिमात्रै महाधिवेशन गरेर आएकोले अहिले नै नेतृत्व र नीति परिवर्तनको बहस नचल्ने उनको दाबी छ। ‘हाम्रो पार्टीमा यही नीति र नेतृत्वको निरन्तरता हुन्छ, एक वर्षभित्र हामी यही नेतृत्वमा पार्टीलाई रिभाईभ गर्छौं।', उनले भने, 'हाम्रो छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। समग्रतामा छलफल गर्नेछौं।’
प्रकाशित: ३ चैत्र २०८२ १७:५३ मंगलबार





