२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

समृद्धिको यात्रामा सबै सहभागी बनौँ: मन्त्री खड्का

फाइल तस्बिर

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गरेका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्रह गरे ।

मन्त्री खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण हुने भएकाले सरकार बाहिर बसेका दललाई अनावश्यक टिकाटिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका हुन् । कानूनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको उनको भनाइ छ ।

पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले झुठा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गरे । उनले भने, ‘धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठूला वा साना सबै दल जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।’

सङ्खुवासभाको सन्दर्भमा उनले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गरे ।

मन्त्री खड्काले किमाथाङ्का नाका शीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताउँदै अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । उनका अनुसार एक हजार ६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

मन्त्री खड्काले भने, ‘गरिबीको रेखामुनि रहेका नागरिक पनि समृद्ध हुनेछन् भने मुलुक समृद्धितर्फ अघि बढ्नेछ । विकास र समृद्धि सबैको चाहना भएकाले सबै दल एकै ठाउँमा आएर राष्ट्रलाई समृद्ध बनाउन योगदान दिनुपर्छ ।’ रासस

प्रकाशित: ७ भाद्र २०८२ २०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App