नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकताको प्रयास गरिरहेको छ। पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा एकताबारे भएको छलफल भएको थियो। समाजवादी मोर्चामा रहेका नेकपा एकीकृत समाजवादी, उपेन्द यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग माओवादीले सहकार्यको प्रस्ताव गर्दै माओवादी केन्द्र एकताको प्रयासमा लागेको हो।
माओवादी केन्द्रले एमालेबाहेकसँग वाम एलाइन्सको प्रस्ताव पनि गरिरहेको स्रोतको दाबी छ। माओवादी केन्द्रले दलहरूका बिचमा निर्वाचनमा जाने आम सहमति बनाउने कोसिस पनि गरिरहेको छ। पार्टीको महाधिवेशन आयोजक समितिको सोमबार बसेको सचिवालय बैठकमा यस्तो समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘निर्वाचनमा जान मूलतः पार्टीहरूसित हामीले छलफल गरिरहेका छौँ। छलफल सकारात्मक छ,’ बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सापकोटाले भने, ‘अहिले त करिबकरिब चुनावमा जाने सहमति छ। पार्टीका बैठकहरू बसिरहेका छन्। कांग्रेसको पनि एमालेको पनि बैठक बस्दै छ। चुनावमा जाने कुरामा आम सहमतिजस्तै बन्दै छ। ’
संविधान र व्यवस्था जोगाउन निर्वाचनको विकल्प नभएको पनि सापकोटाले बताए। ‘चुनाव गरेर मात्रै अहिलेको संविधानलाई निरन्तरता दिने, व्यवस्थालाई जोगाउने, सबै कुराको पहलकदमी लिने कुरा चुनावले मात्रै गर्न सक्छ,’ उनले भने। त्यसकारण चुनाव गर्ने कुरालाई माओवादी केन्द्रले शीर्ष प्राथमिकतामा राखेको उनको भनाइ थियो।
दलहरू निर्वाचनमा आम सहमति बनाइरहँदा सरकारका तर्फबाट भने मूर्त रूपमा छलफल नभएको भन्दै प्रवक्ता सापकोटाले टिप्पणी गरे। ‘अहिले बाढीपहिरोले गर्दा होला, सरकारका तर्फबाट ठोस, मूर्त र अलिकति प्रभावकारी ढंगबाट छलफल भएको छैन,’ उनले भने। सोमबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकताबारे वार्ता सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका थिए।
प्रकाशित: २१ आश्विन २०८२ ०८:३६ मंगलबार





