१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रजातान्त्रिक आन्दोलनका अगुवाको एकस्वरः निर्वाचन अगाडि कांग्रेसको महाधिवेशन

प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूले निर्वाचन अगाडि नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। प्रजातान्त्रिक विचार समाजले शुक्रवार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरूले निर्वाचन अगावै कांग्रेसको १५औँ महाधिवेशन हुनुपर्ने बताएका हुन्। 

कार्यक्रममा  बोल्दै वरिष्ठ पत्रकार तारानाथ दाहालले नेपालको प्रजातान्त्रिक इतिहासमा जेनजी आन्दोलन ऐतिहासिक रहेको बताउँदै  त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताए। उनले आगामी निर्वाचनलाई सफल बनाउन पनि लाग्नुपर्नेमा जोड दिए। 

प्रजातान्त्रिक विचार समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्न सक्ने पार्टी बनाउन पार्टी विधानलाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए। ‘त्यसमा तत्कालका लागि कांग्रेसले महाधिवेशन गरेर निर्वाचन जानुपर्छ,’ उनले भने। 

वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले भने संविधानभित्रको समस्याको निकास खोजेर अगाडि बढ्नुपर्ने अवस्था आएको बताए। त्यसका लागि राजनीतिक पार्टीले संविधान संशोधनको एजेन्डालाई लिएर अदालतमा जान सके संसद् पुनः स्थापना हुनसक्ने पनि बताए। ‘चुनाव नै हुने हो भने कांग्रेसभित्र नेतृत्व परिवर्तन गरेर निर्वाचन जानुपर्छ,’ उनले भने। 

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले कांग्रेसले बौद्धिक समाजसँग छलफल गर्न छाडेको बताए। भदौ २३ र २४ गतेको घटनालाई पार्टीले सूक्ष्म रूपले अध्ययन गर्नुपर्नेमा उनको जोड छ। कांग्रेसको महाधिवेशनका सन्दर्भमा उनले ‘पार्टीभित्र अनुहार मात्र फेरेर नहुने’ बताउँदै ‘प्रवृत्तिगत परिवर्तन सुधार आवश्यक रहेको’ उल्लेख गरे। संविधान जोगाउन फागुन २१ को निर्वाचनमै जानुपर्नेमा उनको जोड थियो। 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले प्रविधिले राजनीतिलाई ‘गाइड’ गरिरहेको बताउँदै प्रविधिमा जो अभ्यस्त छैन त्यसलाई पुरानो पुस्ताका रूपमा लिनुपर्ने बताए। 

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले राजनीतिक दलले  विकल्प दिन नसकेकाले जेनजी आन्दोलन भएको बताए। अहिले संसद् पुनः स्थापनाभन्दा निर्वाचनमै दल जानुपर्नेमा उनको जोड थियो। चुनावमा जाँदा आम नागरिकमा आशा जगाउन नयाँ कार्यक्रम र नयाँ अनुहार लिएर जानुपर्ने उल्लेख सुवेदीले बताए। 

राजनीतिक विश्लेषक विनोद भट्टराईले नेताभित्र इच्छाशक्ति भए कांग्रेसको १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न सकिने बताए।  

समाजका पूर्व अध्यक्ष जीवराज कोइरालाले देशको परिस्थिति जटिल मोडमा गएकाले कांग्रेसले निर्वाचनअघि महाधिवेशन गरेर निर्वाचनमा होमिनुपर्ने बताए। 

वरिष्ठ पत्रकार तेजप्रसाद पण्डितले आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेसलाई अगाडि बढाउनुपर्ने बताउँदै कांग्रेसले नेतृत्व परिवर्तन गरेर निर्वाचनमा जानुपर्ने बताए। 

समाजका वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्यालले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको बारेमा राय, सुझाव समेट्ने काम समाजले गरिरहेको बताए। 

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेकाले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन चुनावी सरकारको भूमिका र निर्वाचनमा दलहरूको सहभागिता सम्बन्धमा समाजले निरन्तर छलफल गर्दै आइरहेको बताए। 

प्रकाशित: २८ कार्तिक २०८२ १९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App