कटेजबाट मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशसभाका सांसदहरूले आज (मंगलबार) रिट निवेदन दर्ता गराउन सर्वोच्च अदालत पुगेका छन्।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएको मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारविरुद्ध मधेस प्रदेशसभाका ७४ जना सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गराउन सात दलका नेताहरू सर्वोच्चमा पुगेका हुन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेताहरू सर्वोच्च पुगिसकेका छन्।
उनीहरूलाई रिट निवेदनमा मधेस प्रदेशका पूर्व मुख्यन्यायाधीवक्ता दीपेन्द्र झासमेतका कानुनविद्हरूले कानुनी सहयोग गरिरहेका छन्।
सोमबार बिहान संविधानको धारा १६८ को ३ बमोजिम तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई महोत्तरीको पानस कटेजमा मुख्यमन्त्री नियुक्त गरी सपथ ग्रहण गराएकी थिइन्।
सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जाने भनेर प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासको पानस होटेलमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन्। यसप्रति कांग्रेससहित सात दल मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित मधेस प्रदेश सरकारको मुख्यालय मधेस भवन घेराउ गरी आन्दोलन तीव्र पारेका थिए। आन्दोलन अझै जारी छ।
प्रदेश प्रमुखको कार्यालय छलेर कटेजमा मुख्यमन्त्रीलाई शपथ खुवाउने प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी भने पदमुक्त भइसकेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार भण्डारीलाई पदमुक्त गरेका हुन्।।
प्रकाशित: २५ कार्तिक २०८२ १२:२७ मंगलबार





