२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सिंहदरबार जलाउनेलाई तह लगाउन ‘लठ्ठीवाला फोर्स’ तयार छ: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सिंहदरबारमा आगो लगाउँछु भन्ने र नेताहरूलाई लखेट्छु भन्ने अराजक तत्वहरूलाई तह लगाउन एमालेले ‘लठ्ठीवाला फोर्स’ तयार पारेको चेतावनी दिएका छन्।

सोमबार काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश र सम्पर्क कमिटीको संयुक्त भेलालाई सम्बोधन गर्दै बस्नेतले मुलुकमा देखिएको अराजकता नियन्त्रण गर्न एमाले अब रक्षात्मक नभई आक्रामक रूपमा प्रस्तुत हुने बताए।

बस्नेतले भने, ‘सिंहदरबारमा आगो लगाउँछु भन्ने, जलाउने, नेतालाई लखेट्छु भन्ने र सामाजिक सञ्जालमा अराजकता मच्चाउनेहरूलाई अब एमालेले टुलुटुलु हेरेर बस्दैन। तिनीहरूको प्रतिकार गर्न हाम्रो लठ्ठीवाला फोर्स (स्वयंसेवक दस्ता) तयार छ।’

उनले एमालेका नेता तथा कार्यकर्तालाई कसैले हेप्न खोजे वा आक्रमण गर्न खोजे त्यसको सशक्त प्रतिवाद गरिने बताए।

सचिव बस्नेतले अराजकता नियन्त्रण गर्न र आगामी निर्वाचनमा बुथको सुरक्षा गर्नका लागि माघ ९ गते ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा गर्न लागिएको जानकारी दिए।

‘काभ्रेको धुलिखेलमा हामी १० हजार युवाहरूको मार्चपाससहित यो दस्ताको घोषणा गर्दैछौँ,’ उनले भने, ‘हरेक टोलमा एक बुथ, एक सय युथको अवधारणामा हामी कमिटी बनाउँछौँ। जसले बुथको सुरक्षा मात्र होइन, अराजकताविरुद्ध लड्ने काम पनि गर्नेछ।’

बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरेर एमालेविरुद्ध भ्रम छर्नेहरूलाई साइबर सर्कल र युवा दस्तामार्फत नाङ्गेझार पारिने चेतावनी दिए।

‘एमालेलाई रोक्न खोज्ने देशी–विदेशी शक्ति र तिनका मतियारहरूलाई यो फोर्सले जवाफ दिनेछ,’ उनले भने।

प्रकाशित: २८ पुस २०८२ १६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App