३० असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

सर्भर समस्याले रोकिए मालपोतका काम, बैंकिङ कारोबार समेत प्रभावित

भूमि व्यवस्थापन तथा अभिलेख विभागको केन्द्रीय प्रणालीमा प्राविधिक समस्या देखिएपछि देशभरका मालपोत (भूमि प्रशासन) कार्यालयको सेवा प्रभावित भएको छ। सोमबारदेखि पब्लिक एक्सेस मोडल (पाम) प्रणालीमा समस्या आएपछि जग्गा सम्बन्धी सेवा लिन पुगेका सेवाग्राही र बैंक तथा वित्तीय संस्था दुवै प्रभावित बनेका हुन्। 

विभागका अनुसार सर्भरमा देखिएको प्राविधिक समस्या समाधान गर्न प्राविधिक टोली परिचालन गरिएको छ। विभागका निर्देशक गिरिशकुमार झाले समस्या समाधानको काम भइरहेको र सेवा यथाशीघ्र सुचारु गर्ने प्रयास भइरहेको बताए। 

उनका अनुसार सर्भरमा समस्या आए पनि आवश्यक लिखत तथा निवेदन तयार गरी ल्याएका सेवाग्राहीका केही प्रक्रिया भने सम्बन्धित भूमि प्रशासन कार्यालयबाट अघि बढाउन सकिने व्यवस्था गरिएको छ। 

सर्भर अवरुद्ध भएपछि जग्गा किनबेच, नामसारी, धितो दर्तालगायतका सेवा प्रभावित भएका छन्। यसले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह, धितो व्यवस्थापन र गैर–बैंकिङ सम्पत्ति बिक्री प्रक्रियामा समेत असर परेको छ। 

भूमि प्रशासन कार्यालय कलंकीका प्रमुख केदार दाहालका अनुसार आर्थिक वर्षको अन्त्यतिर मालपोत कार्यालयमा सेवाग्राहीको चाप उच्च हुने समयमा प्रणाली अवरुद्ध हुँदा कार्यालयको नियमित काम प्रभावित भएको छ। सेवाग्राहीको गुनासो बढेको र दैनिक सेवा प्रवाहमा कठिनाइ भइरहेको उनले बताए। 

सरकारले पछिल्ला वर्षमा भू–सूचना व्यवस्थापन प्रणाली लागू गर्दै मालपोतका अधिकांश सेवा डिजिटल बनाएको छ। हाल राजस्व भुक्तानी बैंक, मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत गर्न सकिने व्यवस्था छ भने ‘मेरो कित्ता’ अनलाइन प्रणालीमार्फत जग्गाको नक्सा, श्रेस्ता र अन्य विवरण घरबाटै हेर्न सकिन्छ। 

तर, केन्द्रीय प्रणालीमा पटक–पटक देखिने प्राविधिक समस्याले डिजिटल सेवाको विश्वसनीयतामाथि प्रश्न उठाएको सेवाग्राहीको गुनासो छ। विभागले भने समस्या समाधान गरी सेवा छिट्टै नियमित गर्ने जनाएको छ।

प्रकाशित: ३० असार २०८३ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App