राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अन्य दलबाट रास्वपामा आएका सांसदहरूलाई पुरानो राजनीतिक प्रवृत्तिबाट पूर्ण रूपमा अलग हुन आग्रह गरेका छन्।
नवनियुक्त तथा पार्टीमा प्रवेश गरेका सांसदहरूलाई सम्बोधन गर्दै उनले पुराना पार्टीबाट आएका सबैलाई खुलेर स्वागत गरिएको बताए। “तपाईंहरूलाई कुनै पनि प्रकारको लघुताभास राख्नुपर्ने आवश्यकता छैन, हामीले हृदय ठूलो पारेर स्वागत गरेका छौं,” उनले भने।
लामिछानेले पुराना पार्टीप्रति आलोचना गर्दा आफूहरू असहज नहुने स्पष्ट पार्दै रास्वपा नयाँ सोच र संस्कारको प्रतिनिधि भएको बताए। उनले भने, “पुराना पार्टीलाई गाली गर्दा हामीलाई अनुहार रातो पार्नुपर्ने अवस्था छैन, किनकि हामी फरक राजनीतिक अभ्यासका लागि यहाँ छौं।”
तर, उनले पुराना दलबाट आएका नेताहरूलाई विगतका कार्यशैली र प्रवृत्तिबाट मुक्त हुन विशेष जोड दिए। “यहाँ आउँदा पुराना प्रवृत्तिबाट टक्टकिएर आउनु आवश्यक छ,” उनले भने, “नयाँ पार्टीमा पुरानो सोच बोकेर आए परिवर्तन सम्भव हुँदैन।”
लामिछानेले रास्वपामाथि ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै देशलाई पुरानै शैलीमा चल्न नदिन नयाँ पुस्ताले ठूलो त्याग गरेको स्मरण गराए। उनका अनुसार हालको राजनीतिक व्यवस्था सामान्य प्रक्रियाबाट मात्र नभई शहीदहरूको बलिदानबाट प्राप्त भएको हो।
“देश अब पुरानो शैलीमा नचलोस् भनेर युवापुस्ताले रगत बगाएका हुन्,” उनले भने, “यो साधारण चुनाव होइन, यो शहीदहरूको बलिदानबाट आएको व्यवस्था हो।” उनले पार्टीका सबै सांसदहरूलाई जनताको अपेक्षा अनुसार काम गर्न, नयाँ राजनीतिक संस्कार स्थापित गर्न र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आह्वान गरे।
प्रकाशित: ४ चैत्र २०८२ १५:३४ बुधबार





