राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँच दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कंदै छन् भने सोही दिन परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने सोमबार नयाँ दिल्ली गएका हुन्।
समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँदिल्ली जान लागेका खनाल आइतबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री खनालको भ्रमणबारे जानकारी गराएको हो। खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेशमन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने छन्। उक्त बैठकमा नेपाल र भारतबिचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
विशेष गरी दुई देशबिचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबिचको सम्बन्धलाई थप सुदृढ र विस्तारबारे विस्तृत रूपमा विचारविमर्श हुने कार्यसूचीमा उल्लेख छ। नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ।
नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सल्लाहकार अजित डोभल, विदेश सचिव विक्रम मिश्री, भाजपा अध्यक्ष नवीनसहितका नेताहरूसँग भेटवार्ता गरेका लामिछानेले बिहीबार अयोध्याको भ्रमण गरेका छन्। भ्रमण टोलीमा लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपीन आचार्य, सचिवालय सदस्य दीपक बोहरालगायत सहभागी छन्।
प्रकाशित: २२ जेष्ठ २०८३ ०८:०६ शुक्रबार





