५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

ल्हेन्देखोला बाढी: गृहमन्त्रीले दिए संसद्लाई जानकारी, केके भने?

गृहमन्त्री रमेश लेखकले भोटेकोसीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ को रसुवागढीमा ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद् घटनामा हालसम्म नेपाल प्रहरीका दुई जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको जानकारी दिए। 

मन्त्री लेखकले बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए। 

‘हालसम्म धादिङस्थित त्रिशूली नदीको किनारमा नाम, थर, वतन नखुलेको दुई वटा पुरुषको शव फेला परेको छ। रसुवा, धादिङ र नुवाकोटमा गरी ३ वटा शरीरको अंग फेला परेको छ,’ गृहमन्त्री लेखकले भने, ‘नुवाकोट विदुर नगरपालिका–३  शिर खाली नयाँ पुलस्थित त्रिशूली नदीको किनारामा दायाँ खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ ।’ 

उनले धादिङको वेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ४०÷४५ वर्षका पुरुषको शव फेला परेको पनि बताए। 

यस्तै भरतपुर नगरपालिका–२९ पन्ध्रकिलो स्थित त्रिशूली नदीको किनारमा इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको पनि गृहमन्त्री लेखकले जानकारी दिए।  गृहमन्त्री लेखकले हालसम्म ३० जना नागरिकको हेलिकप्टरमार्फत सफलतापूर्वक उद्धार गरिएको जानकारी दिए। 

यस्तै उनले नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको पनि संसद्लाई जानकारी दिए। 

‘मानिस र सवारी साधन आवत जावत बन्द भएको अवस्था छ । सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालवाहक कन्टेनर ट्रक, ३५ वटा विद्युतीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ’, गृहमन्त्री लेखकले भने।  

अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात् आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशील रहेको उनको भनाई छ। 

मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएको पनि संसद्लाई जानकारी दिए। उनले अगाडि भने, ‘उक्त स्थलगत अवलोकनपश्चात् सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी विभिन्न राहत, उद्धार तथा प्रतिकार्य सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू भएका थिए ।’ 

परिषद्को बैठकले उक्त घटनामा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी पनि दिए। 

भोटेकोसी नदीमा आएको आकस्मिक बाढीले नेपाल र चीन जोड्ने नाका रसुवागढीस्थित मितेरी पुल बगाएकाले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हुँदा उक्त पुलको पुनर्निर्माण गरी नाका सुचारु गर्न परराष्ट्र मन्त्रालयमार्फत मित्रराष्ट्र चीन सरकारलाई अनुरोध निर्णय भएको गृहमन्त्री लेखकको भनाई छ ।

यस्तै घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय भएको  पनि उनले जानकारी दिए। 

प्रकाशित: २५ असार २०८२ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App