उर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा गठन हुन लागेको दलको नाम ‘उज्यालो नेपाल’ तय भएको छ ।
अहिले कुलमान समर्थक र उनका अनुयायीले पार्टी गठनको कामलाई तीव्र पारेका छन् ।
यसअघि जनसेवा नेपाल नामाकरण गर्ने भनिए पनि निर्वाचन आयोगमा जाने बेला पार्टीको नाम उज्यालो नेपाल राख्न सबैको एकमत भएको छलफलका एक सहभागीले बताए ।
उनले भने, ‘हामी अहिले छलफलका क्रममा छौँ । पार्टीका विभिन्न क्रियाकलपाका विषयमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले छलफल जारी छ । चाँडै छलफलका निष्कर्ष पनि सार्वजनिक गरिनेछ ।’
उनले पार्टीको अध्यक्ष अनुपकुमार उपाध्याय रहने मोटामोटी समझदारी भएको पनि जानकारी दिए । ‘अहिले पार्टीलाई मूर्त रुप दिने विषयमा छलफल भइरहेको छ । पार्टीको अध्यक्ष अनुपकुमार उपाध्याय रहनुहुने भएको छ । अरु माइन्यूटमा हस्ताक्षरको काम जारी छ ।’
नयाँ दल आज साँझ वा भोलि बिहान भित्र निर्वाचन आयोगमा दर्ता हुनेछ । आन्तरिक छलफल सकिए आजै समय नपुगे भोलिमात्र दर्ता गरिने पनि उनले बताए ।
प्रकाशित: २४ कार्तिक २०८२ १४:०९ सोमबार





