२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

जेनजीको अनुरोधमा सरकारमा गएँ, पदलोलुप होइन : अध्यक्ष घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अन्तरिम सरकारमा जेनजीको अनुरोधमा गएको स्पष्ट पारेका छन्। 

अन्तरिम सुशीला कार्की सरकारका निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री  आफूले त्यो बेलादेखि नै राजनीति गर्ने बताएको भए पनि सरकारमा जानका लागि जेनजी र प्रधानमन्त्री आफैँले अनुरोध गरेपछि गएको तर्क गरेका हुन्।  

उनले लेखेका छन्, ‘जेनजी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ।’

उनले अगाडि भनेका छन्, ‘सरकारमा सहभागी हुने बेलामै मैले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राख्दै यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको थिएँ। तर तत्कालीन परिस्थितिमा मेरो सहभागिता आवश्यक भएको, जेनजी आन्दोलनका भाइबहिनीहरूको पनि यही माग रहेको र पछि राजनीतिमा जानु परेमा राजीनामा दिएर जान सकिने सम्मानीय प्रधानमन्त्रीको आग्रहपछि मैले जिम्मेवारी स्वीकार गरेको हुँ।’

यस विषयलाई प्रधानमन्त्री कार्की स्वयंले सार्वजनिक रूपमा पनि उल्लेख गरेको उनको भनाइ रहेको छ। आन्दोलनपछि राज्य संरचना प्राय: शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै आफूले जिम्मेवारी सम्हालेको उनले स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले मेरो जिम्मेवारीबोध पुष्टि गर्छन्।’

उनले आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायसहित भ्रमपूर्ण प्रचार र टिकाटिप्पणी भइरहेको तर्क पनि गरेका छन्।

हेर्नुस् उनको फेसबुक स्टाटस

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेन–जी आन्दोलनका अगुवाहरूको अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ। सरकारमा सहभागी हुने बेलामै मैले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राख्दै यो गैर दलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रस्ट पारेको थिएँ। 

तर तत्कालीन परिस्थितिमा मेरो सहभागिता आवश्यक भएको, जेन–जी आन्दोलनका भाइबहिनीहरूको पनि यही माग रहेको र पछि राजनीतिमा जानु परेमा राजीनामा दिएर जान सकिने  सम्माननीय प्रधानमन्त्रीको आग्रहपछि मैले जिम्मेवारी स्वीकार गरेको हुँ। यस विषयलाई सम्माननीय प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा पनि उल्लेख गर्दै आउनुभएको छ। आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै मैले जिम्मेवारी सम्हालेको हुँ। आफ्नो अडान प्रस्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ। म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ। 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले मेरो जिम्मेवारीबोध पुष्टि गर्छन्। अतः मेरो विरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायसहित भइरहेका भ्रमपूर्ण प्रचार र टीकाटिप्पणीबाट प्रभावित नहुन सबैमा हार्दिक आग्रह गर्दछु। उज्यालो नेपाल निर्माणका लागि म आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहनेछु।

प्रकाशित: १० माघ २०८२ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App