यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका उर्जामन्त्री कुलमान घिसिङले पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक रेकर्ड समयमा खोलेको दाबी गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुलमानले यस्तो दाबी गरेका हुन्।
‘आशा गर्दछु, दसैं मनाउन सबै जना सकुशल आफ्नो घर पुग्नुभएको छ,’ कुलमानले लेखेका छन्, ‘असोज ७ गते मुग्लिङ–नारायणगढ सडक खण्डको तुइन खोलामा आएको विशाल पहिरोका कारण सडक अवरुद्ध भएको थियो। प्रतिकूल मौसमका बाबजुद पनि हाम्रो प्राविधिक टोली, सुरक्षाकर्मी र स्थानीय समुदायको अथक मिहिनेतका कारण केही घण्टामै यातायात पुनः सुचारु गरिएको थियो।’
तेस्रो पटक असोज १३ गते सोही स्थानमा फेरि ठुलो पहिरो खसेको उनले लेखेका छन्। ‘..पहिरो खसेपनि रेकर्ड समय अर्थात् करिब ६ घण्टाभित्रै सडक खुलाएर यात्रुहरूको सुरक्षित आवागमन सम्भव बनाइयो,’ कुलमानले दाबी गरेका छन्।
उनले यो सफलतामा संलग्न सबै प्राविधिक टोली, सुरक्षाकर्मी र स्थानीय समुदायलाई धन्यवाद दिएका छन्। ‘जनताको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै, अझ द्रुत र प्रभावकारी रूपमा काम गर्न हामी निरन्तर तत्पर रहनेछौँ,’ उनले अगाडि लेखेका छन्।
प्रकाशित: १४ आश्विन २०८२ २०:३७ मंगलबार





