प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसायीबिच भएको पछिल्लो भेटवार्तालाई लिएर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसले निजी क्षेत्रको आत्मविश्वास बढाउन मद्दत पुग्ने बताएका छन्।
प्रधानमन्त्री शाह र व्यवसायीबिच भएको छलफलपछि सामाजिक सञ्जालमा धारणा राख्दै घिसिङले यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीले उद्योग व्यवसायी र निर्माण व्यवसायीहरूसँग गरेको छलफलले निजी क्षेत्रको आत्मविश्वास बढाउन मद्दत पुग्नेछ। अहिले सबै क्षेत्रमा त्रासको वातावरण रहेको बेला आत्मविश्वास जगाउन महत्वपूर्ण छ। व्यवसायीहरूलाई लगानी र काम गर्ने वातावरण बनाउन राज्यले सहजीकरण र सहयोगीको भूमिका निभाउन जरूरी छ। कर्मचारी, लगानीकर्ता, निर्माण व्यवसायीको क्षमता अभिवृद्धि गर्दै मनोबल उच्च बनाएर मात्र अर्थतन्त्रले गति लिनेछ। जलविद्युत लगायत अन्य क्षेत्रमा पनि सरकारको ध्यान जाओस्।’
यो पनि पढ्नुहोस्
उद्योगी व्यवसायीलाई हतोत्साही बनाउन धरपकड गरेको होइन: प्रधानमन्त्री बालेन
प्रधानमन्त्री शाह र व्यवसायीबिचको सो भेटमा निर्माण क्षेत्रका समस्या, भुक्तानी, म्याद थप र लगानीसम्बन्धी चुनौतीबारे विस्तृत चर्चा भएको थियो। छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार उद्योगी व्यवसायीलाई हतोत्साहित पार्ने मनस्थितिमा नरहेको बताउँदै नीतिगत सहजीकरणका लागि आफू तयार रहेको बताएका थिए।
प्रकाशित: २६ असार २०८३ ०६:५४ शुक्रबार





