प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अबको अध्यक्षका रुपमा पनि विधान महाधिवेशनमा अधिकांश प्रतिनिधिले चित्रित गरेका छन् ।
स्पष्ट विचार, नीति र सिद्धान्त तथा राष्ट्रिय मुद्दाको सहजीकरणले अब एमाले ओलीकै नेतृत्वमा अघि बढ्नुपर्ने अडान पनि विधान महाधिवेशनका प्रतिनिधिले बताएका छन् ।
लिपुलेकको भूमिका विषयमा प्रधानमन्त्रीले राखेको अडानले अब पार्टी र देशको नेतृत्व गर्ने व्यक्ति ओली नै भएको टिप्पणी एमालेजनको छ।
विधान महाधिवेशनको हलमा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैशीले भने, ‘लिपुलेकको भूगोल सुदूरपश्चिममै पर्ने र त्यसको असर पनि त्यहाँका जनतालाई पर्छ । हिजोका दिनमा लिपुलेकको मुद्दा प्रेमसिंह धामीले राष्ट्रियकरण गर्नुभएको हो । अहिले अध्यक्ष केपी शर्मा ओलीज्यूले चीन र भारतसँग लिएको अडानबाट यसको अन्तर्राष्ट्रियकरण भएको छ । अध्यक्ष ज्युलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।’
जैशीको भनाईलाई उदृत गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको नेतृत्व शैलीलाई आत्मसाथ गर्दै प्रतिनिधिले अब उहाँकै नेतृत्वमा पार्टी थप प्रगति पथमा पुग्ने बताएको उल्लेख गरे ।
त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले एमालेमा नेतृत्वलाई थप स्थापित गर्ने समय भएकाले पार्टी भावि नेतृत्वमा अध्यक्ष केपी शर्मा ओलीकै निरन्तरता हुने बताएको गौतमले जानकारी दिए ।
प्रकाशित: २२ भाद्र २०८२ १५:५२ आइतबार





