३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

केपी ओलीको अटेरीपना र एमालेको ‘कोमा’ यात्रा

कार्यकर्ताले गाली होइन, भरोसा खोजिरहेका छन्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि पार्टीभित्रको असन्तुष्ट आवाजमाथि आक्रामक रूपमा प्रस्तुत भएका छन्। संविधान दिवसका अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले आफूविरुद्ध र पार्टीको अवस्थाबारे प्रकाशित समाचारलाई ‘सतप्रतिशतभन्दा बढी झुट’ भन्दै सञ्चारमाध्यममाथि कटाक्ष गरे।  

‘केपी ओली रुँदै थियो अरे, सूर्य चिन्न पनि नपाउने भए, पार्टीको नाम पनि नपाउने भए भनेर छाप्या छौ’ भन्दै उनले आफ्नाबारे आएका समाचारको खिल्ली उडाए।

तर अहिले एमालेभित्र उठिरहेको प्रश्न सञ्चारमाध्यमले ओली रोएको समाचार छापे कि छापेनन् भन्ने मात्र होइन। ओलीले आफ्नै पार्टीभित्रबाट उठेका असन्तुष्ट आवाजलाई कसरी सम्बोधन गरिरहेका छन् भन्ने हो।

११औँ महाधिवेशनमा अध्यक्ष पदमा ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि निर्वाचित भए। ओलीले १ हजार ६ सय ६३ मत पाउँदा पोखरेलले ५ सय ६३ मत पाएका थिए। पदाधिकारीमा पनि ओली पक्षको बलियो पकड रह्यो।

महाधिवेशनको परिणामलाई ओलीका लागि संगठनभित्रको बलियो समर्थनका रूपमा बुझ्न सकिन्छ। तर त्यसलाई पार्टीभित्रका सबै असन्तुष्टि समाप्त भएको प्रमाणका रूपमा बुझ्न मिल्दैन। बरु त्यसपछि पनि नेतृत्व र नीतिको पुनर्गठन माग गर्दै आवाज उठिरहेका छन्। यस्ता आवाज उठाउनेहरूलाई ओलीले ‘आवारा’ र ‘उरन्ठेउला’ भनेपछि त्यसकै व्यंग्यमा एमालेभित्र ‘आवारा अभियान’समेत चलेको थियो । ओलीले त्यस्ता असन्तुष्ट नेताहरूलाई ‘किर्नाहरू आफैं झर्ने’ टिप्पणीसमेत गरेका थिए।

पार्टीभित्रको आलोचनालाई शत्रुता ठान्ने र आलोचकलाई अपमानित गर्ने शैलीले एमाले बलियो हुन्छ कि झन् कमजोर? यो एमालेको नेतृत्वले बुझ्नुपर्ने तर बुझेको छैन । नेतृत्वलाई सुझाव दिने उल्टै कारबाहीमा पर्ने तथा सचिवालय सदस्यले नै ओलीलाई सुधारको बाटोको कुरा सुनाउँन खोज्दा प्रवेश नै नदिने गुनासो कार्यकर्ताले गर्ने गरेका छन् ।

आन्दोलनले दिएको सन्देश 

२०८२ भदौको जेनजी आन्दोलनपछि एमालेभित्रै नेतृत्व परिवर्तन र पुनर्गठनको आवाज उठेको थियो। सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताले पार्टी पुनर्गठन तथा ओलीको नेतृत्वबारे प्रश्न उठाएका थिए।

त्यसपछि फागुन २१ को प्रतिनिधिसभा निर्वाचन आयो। चुनावमा एमालेले अपेक्षित परिणाम ल्याउन सकेन। त्यही निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका ओलीलाई रास्वपाका बालेन्द्र शाहले पराजित गरे। मतपरिणाम पनि अपेक्षाभन्दा धेरै मतान्तरले बालेन विजयी भएका थिए । पार्टीभित्रमात्र होइन जनस्तरमा पनि आफूमाथिको विश्वास कति रहेछ भन्ने बुझ्न पर्ने ओली अझै मतदातासँगै गलत गरे भन्दै पोखिने गरेका छन् ।  

यो हार र ओलीले नसिकेको पाठलाई केवल एक निर्वाचनको हार भनेर पन्छाउन सकिन्न । यो राजनीति अंकगणित मात्रै होइन, सन्देश पनि हो। जेनजी आन्दोलन, त्यसपछिको नेतृत्वमाथिको प्रश्न र निर्वाचनको परिणामलाई एउटै राजनीतिक क्रमभित्र राखेर हेर्दा एमाले नेतृत्वका लागि आत्मसमीक्षाको पर्याप्त ठाउँ देखिन्छ।

तर अहिले पनि बहसको केन्द्रमा संगठन पुनर्निर्माणभन्दा ‘को सही, को गलत’ र ‘को एमालेविरोधी’ भन्ने प्रश्न बढी देखिन थालेको छ।

आवारा, उरन्ठेउला र शिखण्डी

एक एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा लेखेको टिप्पणीले पार्टीभित्रको मनोविज्ञानको एउटा पाटो देखाउँछ। उनले फेसबुकबाट प्रश्न गरेका छन्- जब आफ्नै कार्यकर्ता, सहयोद्धा र शुभेच्छुकलाई कहिले ‘आवारा’, कहिले ‘शिखण्डी’ भनेर नेतृत्वबाट सार्वजनिक रूपमा दुर्व्यवहार भइरहन्छ, तब नेतृत्वलाई अभिभावक ठान्ने भावना कसरी बाँकी रहन्छ ?

उनले लेखेका छन्, ‘आवारा, शिखण्डी कि झोले ? यस्ता दुर्व्यवहार हामीले चिया पसल, सार्वजनिक यातायात, सामाजिक सञ्जाल र ठाउँठाउँमा भोगिरहेका छौँ। तपाईंहरू सक्नुहुन्छ मिल्नुहोस् र कोमामा पुगेको एमाले उठाउने योजना बनाउनुहोस्, नसक्ने भए यस्ता अपमानका कारखाना बन्द गर्नुहोस्।’

यो एउटा कार्यकर्ताको सामाजिक सञ्जाल टिप्पणी हो। यसको राजनीतिक मूल्याङ्कन अलग हुन सक्छ। तर यसले एमालेभित्र अहिले चलिरहेको बहसको एउटा महत्त्वपूर्ण विषय उठाउँछ । अहिले एमालेभित्र कार्यकर्तालाई नेतृत्वसँग जोड्ने आधार डर हो कि भरोसा ? भन्ने विषय जोडले उठेको छ।

ओलीका पछिल्ला अभिव्यक्तिहरू हेर्दा आलोचकप्रति उनको भाषाशैली झन् कठोर देखिन्छ। आफूविरुद्धका समाचारलाई खण्डन गर्नु एउटा कुरा हो, तर आफ्नो आलोचना गर्ने पार्टीकै नेता–कार्यकर्तालाई ‘आवारा’, ‘उरन्ठेउला’ वा अन्य अपमानजनक शब्द प्रयोग गरेर जवाफ दिनु अर्को कुरा हो। यसले आलोचनालाई निरुत्साहित गर्न सक्छ, तर त्यसले आलोचनाको कारण भने समाप्त गर्दैन।

आफू योग्य देखिन अरूलाई अयोग्यको ट्याग !

ओलीको राजनीतिक शैलीको एउटा विशेषता आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर देखाएर आफ्नो राजनीतिक औचित्य स्थापित गर्ने प्रयासका रूपमा आलोचकहरूले व्याख्या गर्दै आएका छन्। के आफ्नो नेतृत्वको औचित्य पुष्टि गर्न निरन्तर अरूलाई गाली गर्नैपर्छ?

च्यासलको पछिल्लो भाषणमा पनि ओलीले आफ्ना आलोचक र सञ्चारमाध्यममाथि व्यंग्य गरे। आफूलाई कमजोर, निराश वा पराजित देखाउने प्रचारलाई उनले अस्वीकार गर्दै एमाले ‘आफ्नै बाटो’ हिँड्ने बताए।

तर पार्टीको बाटो केवल अध्यक्षले तय गर्ने बाटो होइन। हजारौँ कार्यकर्ता, लाखौँ मतदाता र दशकौँको संगठनात्मक इतिहासले त्यो बाटो बनाएको हुन्छ।

त्यसैले ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’ भन्ने ओलीको भनाइ राजनीतिक रूपमा जति दृढ सुनिन्छ, संगठनात्मक दृष्टिले उनले भनेका खुट्टा तान्ने भनिएका ती मानिसहरू को हुन्? विपक्षी दलका नेता? आलोचक पत्रकार? कि आफ्नै पार्टीभित्र फरक मत राख्ने कार्यकर्ता ? भन्ने प्रश्न उठाउँछ।

यदि उत्तर अन्तिमतर्फ जान्छ भने समस्या गम्भीर छ। यसले पार्टीलाई थप कोमाको यात्रामा लैजानेछ।

महाधिवेशनबाट ओली निर्वाचित हुनु तथ्य हो। त्यो परिणामले पार्टीको औपचारिक नेतृत्वमा उनको पकड स्पष्ट गरेको छ। तर निर्वाचन जित्नु र संगठनलाई पुनर्जीवित गर्नु एउटै कुरा होइन।

एमालेको ११औँ महाधिवेशनपछि पनि पार्टीभित्र नेतृत्व, नीति र पुनर्गठनबारे बहस जारी रहेको देखिन्छ। पछिल्लो समय ओली पार्टी सचिवालयमा अल्पमतमा परेको र केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म आफ्नो पक्षमा गोलबन्द गर्ने प्रयास तीव्र पारेको विश्लेषणसमेत सार्वजनिक भएको छ।

अर्थात् महाधिवेशनले नेतृत्वको प्रश्न टुंग्याए पनि एमालेभित्रको राजनीतिक असन्तुष्टिको प्रश्न टुंगिएको छैन।

यही अवस्थामा नेतृत्वले असन्तुष्टिलाई संवादको विषय बनाउने कि अपमानको विषय बनाउने भन्ने निर्णयले आगामी एमालेको चरित्र निर्धारण गर्न सक्छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा एमालेका लागि कार्यकर्ता उत्साहित हुनुपर्ने समय हो। पराजयको समीक्षा, जनतासँगको सम्बन्ध पुनर्निर्माण, नयाँ पुस्तासँग संवाद र संगठन विस्तार प्राथमिकतामा पर्नुपर्ने बेला हो। तर कार्यकर्ताले नै नेतृत्वबाट अपमानित भएको महसुस गर्न थाले भने त्यसको असर चुनावी संगठनमा पर्न सक्छ।

‘कोमामा पुगेको एमाले’ भन्ने कार्यकर्ताको अभिव्यक्ति राजनीतिक विश्लेषणको निष्कर्ष होइन, आक्रोशित कार्यकर्ताको टिप्पणी हो। एमाले वास्तवमै ‘कोमा’मा छ भनेर ठोकुवा गर्ने आधार छैन। तर पार्टीले जेनजी आन्दोलनपछि भोगेको राजनीतिक धक्का, फागुन २१ को निर्वाचनको परिणाम, अध्यक्षमाथि उठेका नेतृत्वसम्बन्धी प्रश्न र अहिले पनि जारी आन्तरिक असन्तुष्टिलाई सामान्य असहमति भनेर मात्र पन्छाउन मिल्ने अवस्था पनि छैन।

ओलीले ‘रियलाइजेसनको क्यापासिटी’ र ‘रेजिलियन्सको क्यापासिटी’ आफूहरूसँग रहेको बताएका छन्। अर्थात् गल्ती भए त्यसलाई महसुस गरेर अघि बढ्ने क्षमता एमालेसँग रहेको उनको दाबी छ।

अब त्यही दाबी व्यवहारमा देखिने कि नदेखिने भन्ने विषय एमाले कार्यकर्ताले हेर्न बाँकी छ।

रेजिलियन्स भनेको आलोचकलाई चुप लगाउनु होइन। आलोचना सुनेर आफूलाई सच्याउनु पनि हो।

एमालेका लागि अहिले आवश्यक कुरा अध्यक्षको वरिपरि सबैलाई ताली बजाउन लगाउनु होइन, असन्तुष्ट कार्यकर्तालाई पनि पार्टीभित्रै बसेर बोल्न सक्ने वातावरण बनाउनु हो। ओलीलाई आफू सही छु भन्ने विश्वास छ भने फरक मत राख्नेहरूलाई ‘आवारा’ वा ‘शिखण्डी’ बनाइरहनुभन्दा उनीहरूका प्रश्नको राजनीतिक उत्तर दिनु बढी प्रभावकारी हुन सक्छ।

किनकि पार्टीमा विरोधी आवाज समाप्त हुँदैमा पार्टी बलियो भएको हुँदैन। कहिलेकाहीँ विरोधी आवाज हराउनु पार्टीभित्रको एकताको संकेत होइन, बहस मर्न थालेको संकेत पनि हुन सक्छ।

एमाले अहिले त्यही दोबाटोमा छ । ओलीको अटेरीपनलाई राजनीतिक दृढतामा बदल्ने कि त्यही अटेरीपनले पार्टीलाई अझ गहिरो राजनीतिक कोमातिर धकेल्ने? फैसला ओलीको मात्र होइन, एमालेका लाखौँ कार्यकर्ता र मतदाताको राजनीतिक व्यवहारले गर्नेछ।

प्रकाशित: ३ आश्विन २०८३ १६:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App