९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभाः विषयगत समितिको वार्षिक प्रतिवेदन पेस

कोशी प्रदेशसभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा सामाजिक विकास समिति र प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको हो ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम १४३ बमोजिम सामाजिक विकास समितिको वाषिक प्रतिवेदन समितिका सभापति गयानन्द मण्डल र प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन समितिका सभापति होमबहादुर थापाले सदनमा वाचन गरेर सुनाए।

बैठकको विशेष समय नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट खिनु लङ्वा लिम्बूले हतारमा विधेयक ल्याउनुभन्दा सरकारले गहन छलफल गरी सहमति र समन्वयका आधारमा ल्याउनुपर्ने विचार राखे।

उनले पछिल्लो समयमा प्रदेश सरकारले विधेयकमाथि छलफल नगरी हतारमा पारित गर्दा दूरगामी असर पर्ने भन्दै विधेयकलाई परिपक्व तथा कार्यान्वयनयोग्य बनाउन छलफलको समयसीमा बढाउनुपर्नेमा जोड दिए।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले नेपाली भूमिको रक्षा गर्न बलियो भएर प्रस्तुत हुनुपर्ने धारणा राख्दै लिपुलेकबाट भारत र चीनको व्यापारका लागि नाका खोल्ने विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गरे।

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, लखीकुमारी गणेश, सविना बजगाईं, तारादेवी ढकाल र मीना श्रेष्ठले समयसामयिक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए। सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाएका थिए।

प्रकाशित: ५ भाद्र २०८२ १७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App