३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

आमसञ्चार विधेयकविरुद्ध कोशीका पत्रकार आन्दोलित

प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ नेपाल पत्रकार महासंघ कोशीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले आएको भन्दै यसको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।  

महासंघले उक्त विधेयक संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहरसमेत गरेको छ । महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार, भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउन सरकार र प्रदेशसभालाई खबरदारी गर्नेछन् । भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री तथा संसदीय दलका नेताहरूलाई भेटेर ध्यानाकर्षण गराइनेछ भने प्रदेशभर कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान ‘खारेज गर ’ भन्ने नारासहित प्रदर्शन गरिनेछ ।  

भदौ ११ गते प्रदेशका पत्रकारहरूले आ–आफ्ना जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाएर विरोध जनाउनेछन् । भदौ १२ गते नेपाल पत्रकार महासंघ प्रदेश समितिले मुख्यमन्त्री कार्यालय अगाडि र जिल्ला शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम  राखिएको  छ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन, भदौ १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा वृहत् धर्ना दिइने महासंघले जनाएको छ ।  

महासंघका महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा भदौ ८ गते विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँगको सर्वपक्षीय छलफलपछि विधेयक खारेजीको माग गर्दै दबाबमूलक कार्यक्रमहरू अघि बढाउने निर्णय गरिएको जनाइएको छ ।  

 

प्रकाशित: ९ भाद्र २०८२ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App