कोशी प्रदेश सरकारले जेन-जी आन्दोलनका क्रममा जलेर नष्ट भएका सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले गत वर्षको भदौ २३ र २४ गते भएका घटनामा आगजनी तथा तोडफोडबाट क्षति पुगेका सवारी साधन र मेसिनरी औजारहरूको लिलाम बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरिएको जानकारी दिए।
उनका अनुसार बैठकले “विपद् खोज उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि २०८३” लाई स्वीकृत गरेको छ। साथै, “प्रदेश बीउबिजन नियमावली” र “प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८३” लाई समेत स्वीकृति प्रदान गरिएको छ।
बैठकले उद्योग, कृषि तथा सहकारी मन्त्रालय मातहतका निकायहरूका लागि आगामी आर्थिक वर्षको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, वृहत् विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ।
खेलकुद क्षेत्रको विकासका लागि “प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३” स्वीकृत गरिएको छ। यसैगरी स्वास्थ्य सेवा प्रभावकारी बनाउन “विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०८२” लाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको प्रवक्ता पराजुलीले जानकारी दिए।
प्रकाशित: २८ वैशाख २०८३ २०:४५ सोमबार





