२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहाल–कोइराला ‘खुमलटार भेट’: के-के भएको थियो कुराकानी?

सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइराला र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच भेटवार्ता भएको छ। केपी ओली नेतृत्व सरकारको कामप्रति सत्तारुढ कांग्रेसभित्रैबाट असन्तुष्टि व्यक्त भइरहेका बेला कोइराला दाहाललाई भेट्न बिहीबार दिउँसो खुमलटार पुगेका हुन्। नेताद्वयले दुई घण्टा बढी छलफल गरेका थिए। भेटमा वर्तमान सत्ता गठबन्धन र सरकारको कामका विषयमा छलफल भएको स्रोतको दाबी छ।

सरकारको एक वर्षे कार्यप्रति असन्तुष्ट रहेका दुवै नेताले मन्त्रीहरू विभिन्न प्रकरणमा जोडिएको विषयमा पनि छलफल गरेका छन्। अहिलेको अवस्थामा सुधार आउन नसके जनतामा थप नकारात्मक असर पर्ने निष्कर्षमा पुगेका दुवै नेताबिच मुलुकलाई निकास र देशलाई विकास दिन आगामी दिनमा थप छलफल गर्दै अघि बढ्ने समझदारी बनेको स्रोतको दाबी छ।

कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा दुई नेताबिच कुराकानी भएको जानकारी दिए। ‘यही र यस्तै विषय भन्ने केही थिएन,’ उनले भने, ‘समसामयिक राजनीतिक विषयमा उहाँहरूबिच दुई घण्टाजति  छलफल भयो।’

२०८० सालको चैतमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता साझेदारी गरेका थिए। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा दाहाललाई विश्वास गर्न नसकिने भन्दै एमालेसँगको गठबन्धनका पक्षमा दृढतापूर्वक उभिँदै आएका छन् तर कोइरालासहित कांग्रेसका केही नेता ओली नेतृत्वको वर्तमान सरकारका कामप्रति सन्तुष्ट छैनन्। उनीहरू यो गठबन्धनको विपक्षमा देखिएका छन्। उनीहरू एमालेसहित वा एमालेरहितका दललाई साथमा लिएर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा छन्।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकै बेला दाहाल र कोइरालाबिच भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्णरुपमा हेरिएको छ। तर उनीहरू निकट स्रोतले भने दुई नेताबिच यसअघि पनि पटक पटक छलफल र भेटघाट भइरहेको दाबी गरेको छ।

पछिल्लो भेटमा पनि समग्र राजनीतिक अवस्थाका विषयमा गहन छलफल भएको जानकारी दिए।

प्रकाशित: २ श्रावण २०८२ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App