४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

किर्ते धन्दावाल कँडेल सर: रास्वपाको प्रशिक्षक विभाग प्रमुख

<br>

कालिका नगरपालिका–५स्थित पदमपुरका हरिप्रसाद कँडेल चितवन जिल्लाको शिक्षा क्षेत्रमा परिचित नाम हो। केही वर्ष अघिसम्म कँडेललाई यहाँ उच्च सम्मानका साथ हेरिन्थ्यो। गाउँको भिमोदय माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाएको भन्दै उनले प्रशंसा बटुलिरहेका थिए। राज्यले कँडेललाई प्रबल जनसेवाश्री विभूषण पदक समेत दिएको थियो। तर, हिजोआज भने उनको परिचय फेरिएको छ। कँडेल सरलाई जिल्लामा ‘नक्कली शिक्षक’का रूपमा चिन्ने गरिन्छ। 

‘हरि सरलाई गाउँतिर राम्रै मान्छन्। उहाँले मेरो घरै नजिकको विद्यालयलाई नमुना समेत बनाउनुभएको थियो’, अखिल क्रान्तिकारी चितवनका अध्यक्ष सुसन पौडेल भन्छन्,‘पछि उहाँको नक्कली प्रमाणपत्र रहेको थाहा पाएपछि भने सबैको हेर्ने नजर नै परिवर्तन भएको छ।’ कँडेल विशेष अदालत काठमाडौँबाट नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको ठहर भइरहेका नक्कली शिक्षक हुन्। 

कँडेल भिमोदय माध्यमिक विद्यालयको लामो समय प्रधानाध्यापक भइसकेका व्यक्ति हुन्। तर, २०७९ मा एकाएक उनको शैक्षिक योग्यता ‘नक्कली’ रहेको हल्ला चल्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि प¥यो। अख्तियारले अनुसन्धान गरेर ०७९ माघ १८ गते नक्कली कागजात पेस गरेर जागिर खाँदै भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

कँडेलले भिमोदय नमुना माध्यमिक विद्यालयमा २०५५ माघ १० गते अस्थायी नियुक्ति लिएका थिए। २०६३ भदौ २५ गते उनले निम्न माध्यमिक तहको स्थायी नियुक्ति लिएका थिए। भिमोदयमा २०६५ मंसिरदेखि २०६६ जेठसम्म शिक्षक र २०६६ असारदेखि २०७२ असारसम्म प्रधानाध्यापक बनेका थिए। 

अख्तियारको अनुसन्धानमा कँडेलले स्थायी शिक्षक नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आइएस्सी उत्तीर्ण गरेको भनी उल्लेख गरेका भेटिएको थियो। जुन त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाणपत्र(विज्ञान) तहको बोर्ड भनिएको थियो। यस्तै भारतको कानपुरस्थित छत्रपति साहुजी महाराज विश्वविद्यालय स्नातक तह उत्तीर्ण गरेको अर्को प्रमाण पत्र भेटिएको थियो। 

यी दुवै शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी थियो। अख्तियारको अनुसन्धानअनुसार वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट २०५१ सालमा प्रवीणता प्रमाणपत्र तह (विज्ञान) प्रथम वर्ष र २०५२ सालमा द्वितीय वर्षको परीक्षामा सम्मिलित भएका थिए। तर उनी त्यहाँ अनुत्तीर्ण भएको देखिन्छ । कँडेलले सोही समयमा स्टेट बोर्ड अफ तमिलनाडुमा प्लस टु अध्ययन गरेर सो तहको शैक्षिक प्रमाणपत्र पनि बनाएका छन्। त्यसमा पनि उनले नक्कली सर्टिफिकेट बनाएको देखिन्छ। त्यति मात्र होइन कँडेलले सिंघानिया विश्वविद्यालय भारतबाट पिएचडी गरिरहेको दाबी गरेका थिए।  तर सिंघानिया विश्वविद्यालयको रेकर्डमा उनले पिएचडी अध्ययन पुरा गरेको रेकर्ड छैन। अहिले कँडेल आफ्नो नामअघि ‘डाक्टर’ लेख्छन्। 

अख्तियारको दाबीअनुसार नै २०८० फागुन ११ गते विशेष अदालतले कँडेलमाथिको अभियोग सदर गर्दै उनलाई दोषी ठहर गरेको थियो। विशेष अदालतका तत्कालीन न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले कँडेललाई दोषी ठहर गर्दै उनलाई छ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको थियो। 

शिक्षकबाट बिदा भएपछि किर्ते धन्दा

विशेष अदालतले दोषी ठहर गरेपछि कँडेल निजी कन्सल्टेन्सी खोलेर ‘नक्कली शैक्षिक प्रमाणपत्र बनाउन’ थालेको आरोप छ। उनले चितवनमा कलेज कोच नेपाल प्रालि चलाउँदै आएका छन्। 

जुन कुरा अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेपछि खुलासा नै भएको छ। कँडेललाई रुपन्देही प्रहरीले बिहीबार चितवनको कालिका नगरपालिकाबाट पक्राउ गरेको हो। कँडेललाई नेपाल र भारतका विभिन्न विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बेच्ने गरेको प्रमाणका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।

रुपन्देही प्रहरीले साउन ३० गते बेलहिया बसपार्कको होटेल मुक्तिनाथबाट ठुलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारत कानपुर नौ बस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो।  सोधपुछका क्रममा यादवले कँडेलको नाम लिएको प्रहरीले जनाएको छ। 

शिक्षक हुँदासम्म कांग्रेस, दोषी ठहर भएपछि रास्वपा

कँडेल शिक्षक हुँदासम्म नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघका नेता थिए। विशेष अदालतले दोषी ठहर गरेपछि भने उनको यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग जोडिएको उनले वि.सं २०८० मा रास्वपाको सदस्यता लिएका थिए। 

रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालकाअनुसार कँडेल रास्वपाका बागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख हुन्। । तीन महिना अघिमात्रै विभाग प्रमुख नियुक्त भएको सभापति भुसालले जानकारी दिए। विभागबाटै उनी रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने गरेका तस्बिर उनको सामाजिक सञ्जालमा देखिन्छन्।

 कँडेलले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट कालिका नगरपालिकाको मेयरको उम्मेदवारी दिने तयारी गरिरहेका चर्चा पनि छ।  रास्वपा चितवनका सभापति भुसालले कँडेलको कन्सल्टेन्सीबारे आफूलाई थाहा नभएको बताउँछन्। यद्यपि कँडेलले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भारतसहित तेस्रो मुलुकका देशमा पठाउनेसमेत गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ भाद्र २०८२ १९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App