२ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

खुश्बु ओलीले दिइन् साइबर ब्युरोमा उजुरी, एक जना पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की र घृणायुक्त अभिव्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएकी छिन्।

संसद्‍मा उठाएका जनचासोका विषयको प्रतिक्रिया स्वरूप आफूविरुद्ध सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भएको बताउँदै उनले उजुरी दर्ता गराएकी हुन्। उजुरीपछि साइबर ब्युरोले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिएकी छिन्।

सामाजिक सञ्जालमा आफूविरुद्ध फैलाइएका धम्की, हिंसात्मक अभिव्यक्ति र दुर्व्यवहारप्रति शून्य सहनशीलता अपनाउने चेतावनी दिएकी खुश्वुले सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताइन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेकी छिन् : 

विगत केही सातादेखि मैले संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण, गालीगलौज, चरित्रहत्या र घृणायुक्त अभिव्यक्तिहरू निरन्तर आईरहे। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या सयौंबाट हजारौँमा पुग्यो। मेरो व्यक्तिगत मोबाइल फोन देखि लिएर, म्यासेन्जर सम्ममा बलात्कार, ज्यान मार्ने धम्की र भौतिक आक्रमणका अभिव्यक्तिसम्म आए। आज मैले यस सम्बन्धमा नेपाल प्रहरीको साइबर ब्युरोमा केही दर्जन व्यक्तिहरू माथि औपचारिक उजुरी दर्ता गरेको छु। आज नै एकजना व्यक्ति पक्राउ परिसकेका छन्, र कानूनी प्रक्रियाको सामना गर्दै छन्।  

मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम-नागरिकहरुले कठोर भन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो। तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुव्र्यवहार कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिनँ।  

टिकटक, युट्युब, फेसबुक लगायतका प्लेटफर्ममा मेरो बारेमा सामग्री अपलोड गर्ने, कमेन्ट गर्ने, शेयर गर्ने, घृणा फैलाउने सबैलाई म स्पष्ट रूपमा सचेत गराउन चाहन्छु: अझै पनि त्यस्ता सामग्रीहरु हटाउने समय तपाईंहरुसँग छ। अन्यथा, आजदेखि नै कानूनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस्। सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्ति प्रति मेरो शून्य सहनशीलता रहनेछ!

आज सामाजिक सञ्जालमा घृणायुक्त अभिव्यक्ति, गालीगलौज, धम्की र चरित्रहत्यालाई चुपचाप सहेर बस्न बाध्य भएका हजारौं नागरिक-महिला र पुरुष दुवै छन्। जब यस्ता व्यवहारहरुलाई सहिन्छ, त्यस्ता कार्य गर्नेहरू अझ प्रोत्साहित हुन्छन् र उनीहरुको अराजकता झनै फैलिन्छ। हामीले सामाजिक सञ्जालमा घृणायुक्त अराजकतालाई सामान्यीकरण गर्नु हुँदैन। अभिव्यक्ति स्वतन्त्रताको नाममा घृणा, हिंसाको उक्साहट र दुर्व्यवहारलाई स्वीकार गर्न सकिँदैन। आज गरिएको एउटा कानूनी र जिम्मेवारपूर्ण कदम सानो देखिन सक्ला, तर यसले भोलिको समाजलाई केही बढी सभ्य, सुरक्षित र उत्तरदायी बनाउन योगदान पुर्‍याउन सक्दछ। सामाजिक सञ्जालमा फैलिरहेको  घृणायुक्त अराजकता र घृणाको संस्कृतिप्रति शून्य सहनशीलताको सन्देश दिनु हामी सबैको सामाजिक र नैतिक जिम्मेवारी पनि हो।

यस संवेदनशील विषयप्रति गम्भीर चासो व्यक्त गर्दै आवश्यक पहल गर्नुभएकोमा माननीय गृहमन्त्रीज्यू तथा नेपाल प्रहरीको साइबर ब्युरोप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

प्रकाशित: २ असार २०८३ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App