१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

खुलामञ्च गाली गर्ने ठाउँ होइन, विचारको मन्थन गर्ने थलो हो : मुमाराम खनाल

राजनीतिक विश्लेषक मुमाराम खनालले खुलामञ्चको इतिहास नेपालको राजनीतिमा निकै गर्विलो रहेको बताएका छन्।

आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहले खुलामञ्चमा आयोजित कार्यक्रममा नयाँ राजनीतिक दल तथा नेतृत्वप्रति आलोचनात्मक धारणा व्यक्त गरेपछि खनालले सामाजिक सञ्जालमार्फत खुलामञ्चको राजनीतिक इतिहास स्मरण गराएका हुन्। 

खनालले खुलामञ्च खुला विचार र खुला समाजको मन्थन गर्ने थलो भएको उल्लेख गर्दै उदार राजनीतिलाई थप उन्नत बनाउन यसको ऐतिहासिक भूमिका महत्वपूर्ण रहेको बताएका छन्। 

उनले खुलामञ्च गालीगलौज गर्ने ठाउँ नभएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाललाई समेत राजनीतिक कुण्ठा पोख्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने उनको भनाइ छ। 

प्रधानमन्त्री शाहले आफ्नो पदको गरिमासमेत गिराएको आरोप लगाउँदै खनालले लेखेका छन्, ‘प्रधानमन्त्रीको पद, गरिमा र ओजलाई बालेन्द्र शाहले आफ्नै व्यक्तिगत ‘फेसबुके तहमा गिराएका छन्।’  

खनालले खुलामञ्चको राजनीतिक महत्वबारे लेख्दै भनेका छन्, ‘खुलामञ्चमा खुला विचार र खुला समाजको मन्थन हुन्छ। र, खुला समाजलाई चाहिने उदार राजनीतिको बहस, छलफल र निष्कर्षको थलो हो।’ 

प्रकाशित: १९ आश्विन २०८३ ११:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App