जेनजी अभियन्ता रक्षा बमले भोटेकोशी–रसुवा बाढीबाट विस्थापित नागरिकको अवस्थाप्रति राज्य संवेदनशील हुनुपर्ने बताएकी छन्।
उनले बाढीबाट सर्वस्व गुमाएका नागरिकले राज्यबाट कम्तीमा मानवीय व्यवहार, संवेदनशीलता र अभिभावकत्वको अपेक्षा गर्नु गलत नभएको बताएकी हुन्।
बाढीबाट विस्थापित नागरिकहरू अहिले कहाँ जाने र कसरी बाँच्ने भन्ने अन्योलमा रहेको उल्लेख गर्दै उनले सत्ताधारीहरू भने सामाजिक सञ्जालमा दोहोरी खेल्न व्यस्त रहेको टिप्पणी गरेकी छन्। ‘अरे ओ सत्ताधारीहरू हो, सबै कुरा ठट्टा हुँदैन!’ भन्दै उनले बाढीपीडितको पीडालाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेकी छन्।
‘तपाईंहरू फेसबुकमा दोहोरी खेल्दै व्यस्त हुनुहुन्छ। मुद्दा विषयान्तर गर्न खप्पिस हुनुहुन्छ। सायद यही नै होला नयाँ ढङ्गको सुशासन,’ उनले भनेकी छन्।
देश बनाउने जिम्मेवारी लिएका सत्ताधारीहरूलाई फेसबुकमा लेखेर समय बिताउनुभन्दा नागरिकको जीवन बचाउनतर्फ ध्यान दिन उनले आग्रह गरेकी छन्।
‘फेसबुकको भित्तो पछि पनि रङ्ग्याउन पाइएला, अहिले अलिकति नागरिकको जीवन बचाउनुहोस्,’ बमले भनेकी छन्।
प्रकाशित: ५ मंसिर २०८३ १३:१७ शनिबार





