नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेको छ। साथै, राष्ट्रिय महत्त्वको भ्रमणअघि प्रमुख प्रतिपक्षलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भारत भ्रमणको सफलताको कामना गर्दै यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
शर्माले दुई मित्रराष्ट्रबीचको सम्बन्ध थप प्रगाढ बनाउन र नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी बन्न सकोस् भन्ने शुभकामना दिएका छन्।
मित्रराष्ट्रको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षलगायत राजनीतिक दलसँग परामर्श गर्ने स्थापित लोकतान्त्रिक परम्परा रहेको उनले स्मरण गराएका छन्। यस्तो सकारात्मक परम्परालाई वर्तमान सरकारले पनि निरन्तरता दिने अपेक्षा कांग्रेसको रहेको उनको भनाइ छ।
कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको पनि शर्माले बताएका छन्।
जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्श गरेको उनले उल्लेख गरेका छन्।
नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै शर्माले सम्बन्धका सम्भावना, अवसर र व्यावहारिक जटिलताबारे पार्टीसँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ रहेको बताएका छन्।
तर, सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल तथा विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको उनको आरोप छ। राष्ट्रिय महत्त्वको भ्रमणअघि साझा धारणा निर्माण गर्ने स्थापित लोकतान्त्रिक अभ्यासलाई समेत सरकारले निरन्तरता नदिएको उनले बताएका छन्।
‘त्यसैले नेपाली कांग्रेसले पनि सरकारले नमागेको औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित ठानेन,’ विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको उल्लेख गर्दै शर्माले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने बताएका छन्।
यद्यपि, सरकारको कमजोरीलाई प्रधानमन्त्रीको भ्रमणका सम्भावित विषयवस्तुसँग जोडेर हेर्न नचाहेको उनले स्पष्ट पारेका छन्।
‘सरकारसँग हाम्रो विविध असहमति हुन सक्छ, तर नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा हाम्रो प्रतिबद्धता प्रधानमन्त्रीको साथमा स्पष्ट र अटल छ,’ शर्माले भनेका छन्।
उनले भ्रमण क्षणिक लोकप्रियता आर्जन गर्ने वा तत्कालीन प्रचारमा सीमित हुन नहुने बताएका छन्। विगतका प्रतिबद्धताको कार्यान्वयन, विद्यमान समस्याको ठोस निदान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माण गर्न भ्रमण उपयोगी हुनुपर्ने कांग्रेसको अपेक्षा रहेको उनले उल्लेख गरेका छन्।
प्रकाशित: ५ मंसिर २०८३ १२:५० शनिबार





