प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनारको शपथ ग्रहण अन्तिम समयमा रोकिएको छ।
उनीविरुद्ध विभिन्न अदालतमा फौजदारी मुद्दासमेत चलिरहेको र पक्राउ पुर्जी जारी भएको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा उनको नाम शपथ ग्रहणको सूचीबाट हटाइएको हो।
आइतबार दिउँसो साढे २ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रमअघि नै सुनारको नाममा चौतर्फी विवाद भएपछि प्रधानमन्त्री कार्कीले उनको नियुक्ति रोक्ने निर्णय गरेकी हुन्।
मन्त्रीमा सिफारिस भएसँगै सुनारविरुद्ध सर्वोच्च अदालत, सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको थियो।
सुर्खेत जिल्ला अदालतमा उनीविरुद्ध स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा मुद्दा विचाराधीन छ।
गुर्भाकोट नगरपालिका-८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले दिएको जाहेरीका आधारमा २०८१ असारमा दर्ता भएको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो। अदालतका अनुसार, पछि आफैँ हाजिर भए पनि उनले नियमित तारेख गुजार्दै आएका छन्।
त्यसैगरी, काभ्रे जिल्ला अदालतमा उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत गालीगलौज र चरित्रहत्याको मुद्दा चलिरहेको छ। अधिवक्ता मनिषा गौतमले आफूमाथि फेसबुकमा गालीगलौज गरेको भन्दै दिएको उजुरीका आधारमा उक्त मुद्दा दायर भएको हो।
यस्तै, जाजरकोटको नवराज विक हत्या प्रकरणमा सुर्खेत उच्च अदालतको फैसला चित्त नबुझेको भन्दै न्यायाधीशहरूमाथि गालीगलौजपूर्ण अभिव्यक्ति दिएपछि अधिवक्ता गौतमले नै सुनारविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनाको मुद्दा दायर गरेकी थिइन्। यो मुद्दा अझै छिनोफानो हुन बाँकी छ।
यसका साथै, सुनार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दैलेख क्षेत्र नम्बर-१ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि रहेको पनि खुलेको छ।
प्रकाशित: ९ कार्तिक २०८२ १४:२२ आइतबार





