४ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरले पनि आवश्यक सहयोग गर्ने

फाइल तस्बिर

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सुरु गरेको छ। शनिबार बिहानदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच सो क्षेत्रमा डोजर चलाएर अनधिकृत घरटहरा हटाउने काम भइरहेको छ।

यसैबिच, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरको धारणा सार्वजनिक गरेकी छन्। शुक्रबार नगर कार्यपालिका सदस्यहरूबिच भएको छलफलको मार्गनिर्देशनका आधारमा उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। 

कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले सार्वजनिक, ऐलानी, सरकारी र सामुदायिक जग्गा संरक्षण गर्दा मानव अधिकारको न्यूनतम मूल्य मान्यतालाई आत्मसात् गर्दै आएको बताएकी छन्।

उनले भनिन्, ‘हालै नेपाल सरकारले गरेको निर्णय तथा पहलकदमीमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदी किनार तथा अन्य सार्वजनिक स्थानको संरक्षण गर्ने कार्यमा अनधिकृत संरचना हटाउने कार्य गर्न सम्बद्ध मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय तथा अनुरोध बमोजिमको कार्यमा सहयोगी भूमिका निर्वाह गर्दा सम्मानजनक मानवीय व्यवहार गर्ने, जेष्ठ नागरिक, विरामी, गर्भवती महिला, बालबालिका, अपांगता भएका मानिसहरूको विशेष ख्याल राख्ने, सकेसम्म विवादरहित तथा सुरक्षित तवरले व्यवस्थापन गर्ने र कानुन र न्याय प्रतिकूल नहुने गरी गर्न काठमाडौं महानगरपालिकाको अधिकतम प्रयास र सहयोग रहने जानकारी गराउनुका साथै यस कार्यमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला सबै निकाय, पदाधिकारी र सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछौं।’

महानगरले सरकारी जग्गा संरक्षण गर्ने कार्यमा सहयोगी भूमिका खेल्ने तर त्यस क्रममा मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राख्ने उनले स्पष्ट पारेकी छन्। हाल थापाथली क्षेत्रमा बस्ती हटाउने कार्यलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: १२ वैशाख २०८३ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App