८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

काठमाडौं-३ : बालेनका ‘सिपाही’ कि उज्यालोका ‘नायक’ ?

‘हजुर, म त बालेनको सिपाही,’ काठमाडौं-३ का उम्मेदवार राजुनाथ पाण्डेले मतदाता समक्ष दोहोर्‍याइरहने वाक्य यही हो। काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) को कार्यकालमा नगरप्रहरी प्रमुख रहेका पाण्डे, उनीसँगको नजिकको कार्यसम्पर्कलाई आफ्नो राजनीतिक पहिचान बनाइरहेका छन्।

बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेसँगै पाण्डेपनि सोही पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।

तर, यो चुनाव पाण्डेका लागि त्यति सहज देखिँदैन। उनले आफुलाई नयाँ भन्दै गर्दा अर्का नयाँ उम्मेदवारको चुनौती थपिएको छ। निवर्तमान ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि यही क्षेत्रबाट मैदानमा उत्रिएका छन्।

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकका रूपमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङको ‘व्यक्तित्व ब्रान्ड’ ले पाण्डेलाई कडा प्रतिस्पर्धामा धकेलेको छ।

‘यो क्षेत्रमा रास्वपाको लहर र कुलमानको व्यक्तित्वबीच लडाइँ हुनेछ,‘ गोकर्णेश्वर नगरपालिका शिवचोचका फेन्सी पसले जयराम पण्डित भन्छन्, ‘तर कांग्रेस-एमाले पनि कम छैनन्।’

काठमाडौं–३ को संरचना आफैंमा राजनीतिक रूपमा जटिल छ। कागेश्वरी मनोहरा नगरपालिकाका वडा १, २ र ३ रहेका छन्। जसमा ९ हजार ३ सय १६ मतदाता रहेका छन्। त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका सबै वडामा ३८ हजार १ सय ३१ मतदाता छन्। काठमाडौं महानगरपालिकाको वडा नं. ६ (बौद्ध क्षेत्र) मा मात्र १७ हजार मतदाता छन्। यो क्षेत्रमा कुल मतदाता ६४ हजार ४ सय ७९ रहेका छन्।

कागेश्वरी मनोहरातिर एमालेका प्रभावशाली नेता रामेश्वर फुँयालको आधार क्षेत्र मानिन्छ। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत हुन्।

एमालेका फुँयाल संविधानसभा सदस्य रहिसकेका नेता हुन्। २०७० मा संविधानसभामा विजयी भएका उनी २०७४ मा बागमती प्रदेशसभा सदस्य बने। बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका फुँयालले आलापोट गाविस अध्यक्ष र जिविस उपसभापति भएर काम गरिसकेका छन्।

उता गोकर्णेश्वर क्षेत्रमा कांग्रेस उम्मेदवार रमेश अर्यालको स्थानीयमाझ राम्रो प्रभाव देखिन्छ। अर्याल नेपाली कांग्रेसका महासमिति सदस्य हुन् र २०७४ मा गोकर्णेश्वर नगरपालिकाका वडाध्यक्षसमेत थिए। स्थानीय तहबाट उक्लिएका उम्मेदवार भएका कारण स्थानीयमाझ उनी लोकप्रिय रहेका हुन्।

पुराना दलका यी दुई उम्मेदवारको सन्देश अनुभव र संस्थागत क्षमतामा आधारित छ। तर युवा मतदाताको मनोविज्ञान भने फरक देखिन्छ। उनीहरू परिवर्तन, पारदर्शिता र नयाँ अनुहार खोजिरहेका छन्। जसका कारण रास्वपाका पाण्डे र उज्यालो पार्टीका घिसिङ केही अगाडी देखिन्छन्।

बौद्धक्षेत्रमा कुलमान घिसिङप्रति सहानुभूति र समर्थन बलियो देखिन्छ। लोडसेडिङ अन्त्य गरेर घर उज्यालो बनाएजस्तै मुलुक उज्यालो बनाउने अपेक्षा राख्ने पनि भेटिए।

कुलमान घिसिङको चुनावी नाराको केन्द्रमा सुशासन र सामाजिक न्याय छ। २०७३ सालमा देशव्यापी लोडसेडिङ अन्त्य गरेपछि उनले राष्ट्रिय स्तरमा लोकप्रियता कमाए। विद्युत प्राधिकरणमा ३० वर्षभन्दा बढी काम गरेका उनी दुई कार्यकाल कार्यकारी निर्देशक बने।

उनको अभियान व्यक्तिगत विश्वसनीयता र व्यवस्थापन क्षमतामा आधारित छ। तर पार्टी संरचना कमजोर हुँदा घरदैलो विस्तारमा चुनौती देखिन्छ।

यता राजुनाथ पाण्डेको अभियान भने ‘बालेन ब्रान्ड’ सँग जोडिएको छ। काठमाडौं महानगरमा बालेनको कार्यशैलीमा सहयोगी भूमिका निभाउँदै आएका पाण्डे त्यही छविलाई संघीय राजनीतिमा लैजाने दाबी गर्छन्। रास्वपाको पक्षमा देखिएको लहरमा आफ्नो ‘नैयाँ’ पार हुने आशामा उनी देखिन्छन्।

विगतको मत परिणामले के भन्छ ?

२०७९ को निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए। उनले १५ हजार १ सय ५८ मत पाएका थिए। एमालेका कृष्णबहादुर राईले ११ हजार १ सय ९६ मत, रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८ सय ६५ मत र राप्रपाका गणेश गिरीले २ हजार ५ सय ११ मत ल्याएका थिए।

यो तथ्यांकले देखाउँछ थोरै मत विभाजन हुँदा नयाँ दलले उकालो चढ्न सक्छन्। तर बहुकोणीय प्रतिस्पर्धामा थोरै मतान्तरले परिणाम उल्टिन सक्छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रमा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित: १३ फाल्गुन २०८२ २२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App