जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनीले खरानी बनेको कर्णाली प्रदेशसभा क्षेत्रभित्रै आगामी प्रदेशसभा बैठक बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागीहरुले जलेर खरानी भएकै भवन नजिकै टेन्ट टाँगेर भएपनि प्रदेशसभा बैठक बस्ने निर्णय गरेका हुन् ।
‘सके जलेकै भवन पुननिर्माण गर्ने, त्यो नभए प्रिफ्यावको बैठक कक्ष बनाउने त्यो पनि संभव नभए टेन्ट टाँगेर भएपनि हालको प्रदेशसभा परिसरभित्रै आगामी प्रदेशसभाका बैठकहरु सञ्चालन गरिनेछ,’ प्रदेशसभा सचिव जीवराज बुढाथोकीले भने, ‘प्रदेशसभा परिसरभन्दा बाहिर नजाने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।’
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा राप्रपा सांसद सन्तोषी शाही उपस्थित थिइनन् ।
जेनजी आन्दोलनका क्रममा प्रदेशसभा बैठक कक्ष, सभामुख, उपसभामुख, संसदीय दलका कार्यालय, मुख्यमन्त्रीको कार्यकक्ष, समितिका कार्यालयलगायत जलेका थिए । प्रदेश सचिव बुढाथोकीले आन्दोलनका क्रममा खरानी भएको प्रदेशसभा भवन सरसफाई सुरु गरिएको बताए । ‘भदौ २४ गते भएको आगजनी र तोडफोडका क्रममा चार करोड रुपैयाँ क्षति भएको छ,’ उनले भने, ‘आन्तरिक स्रोतबाट सरसफाई सुरु गरेका छौं ।’
प्रदेशसभा बैठक आगामी माघ २१ गतेभित्र हिउँदे अधिवेशन बस्नुपर्ने वैधानिक व्यवस्था छ । सरकारले चाहेको खण्डमा त्यो भन्दापनि अघि प्रदेशसभा बैठक आव्हान गर्न सक्छ । सचिव बुढाथोकीले मुख्यमन्त्री यामलाल कँडेलले क्षति भएका संचरना निर्माण सुरु गर्न निर्देशन दिएको बताए । ‘मुख्यमन्त्रीज्यूले नियमित बजेटबाटै काम सुरु गर्नुहोस्, आवश्यक थप बजेट सरकारले व्यवस्था गर्छ भन्नु भएको छ,’ उनले भने, ‘त्यहीँ भएर सरसफाईको काम सुरु गरेका छौं ।’
उनले सुरुमा सभामुख, उपसभामुख, मुख्यमन्त्री कक्ष, दलका संसदीय कार्यालय, विषयगत समितिका कार्यालयहरु पुनर्निमाण गरिने बताए । ‘प्रदेशसभा बैठक बस्ने भवन हाम्रो बजेटबाट संभव पनि छैन्,’ उनले भने, ‘तत्कालका लागि अस्थायी संरचना निर्माणका लागि सरकारसँग अनुरोध गरेका छौं ।’
प्रदेशसभा सचिव बुढाथोकीले मन्त्रालयका सवारी साधनहरु आन्दोलनकारीबाट बचाउन सकेपनि अन्य सामाग्रीहरु बचाउन नसकेको बताए । ‘प्रदेशसभा बैठक लाइभ गर्ने सम्पूर्ण उपकरणहरु जलेका छन्,’ उनले भने, ‘ति खरिद गर्नका लागि पनि हामीलाई समय लाग्ने अवस्था छ ।’
छलफलमा सहभागी कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले बैठकस्थलका लागि अन्य विकल्प नखोजेर अहिलेकै स्थललाई पुननिर्माण गर्नुपर्ने बताएका थिए । ‘सकभर अहिले आगजनी भएकै सभाकक्षको पुननिर्माण गर्ने र नभएर टेन्टमा भएपनि प्रदेशसभाको बैठकका लागि तयारी गर्ने विषयमा सबै राजनीतिक दल एकमत भएका छौं,’ नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईँले भने, ‘सोही अनुसार अव प्रदेशसभाले तयारी गर्छ ।’
प्रकाशित: १३ कार्तिक २०८२ १७:५४ बिहीबार





