यति बेला पूर्व ऊर्जा राज्यमन्त्री एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ(कान्छाराम)को एक भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन नमिल्ने भन्दै अडान लिएर चर्चामा आएका कान्छारामलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।
यस पटक भाइरल भइरहेको भिडिओ शुक्रबारको हो। नेपाली कांग्रेस रामेछापले संविधान दिवस मनाइरहँदा कान्छाराम आफ्नो भाषण दिइरहेका देखिन्छन्। त्यही बेला अगाडि कसैलाई देखेर उनी आक्रोशित हुन्छन्।
त्यसपछि भन्न थाल्छन्, ‘तिमी बाहिर गइहाल्। बाहिर गइहाल्। तिमी नै होइन, त्यो जुलुसमा उफ्रिनी, लौ तिमी बाहिर गइहाल, बाहिर गइहाल्।’ उनले भन्न खोजेको आशय जेन–जी आन्दोलनमा गएको कुनै पार्टी सदस्यलाई लक्षित देखिन्छ।
‘यस्तो तरिकाले चल्छ पार्टी? यति उफ्रिने मान्छेले यहाँ आएर जोगाउनुपर्थ्यो नि त पार्टी कार्यालय, युवा साथीहरू, विद्यार्थी भाइबहिनीहरूले। नेविसंघ, तरुण दलले,’ कान्छाराम अगाडि भन्दै जान्छन्, ‘ल यहाँ आएर पार्टी कार्यालय जोगाएको भए। जुलुसमा जाने, आन्दोलन गर्ने? संविधान सिद्ध्याउने।’
त्यसपछि उनी अब आफू कडा रूपमा प्रस्तुत हुने बताउँछन्। ‘म अलि कडा रूपमा प्रस्तुत हुने हो साथीहरू अब। रामेछापको कांग्रेसमा आजसम्म कसैलाई तँ भनेको छैन । मैले हजुरै भनेर यहाँ सफल भएँ।’
प्रकाशित: ४ आश्विन २०८२ १९:४७ शनिबार





