मकै, कोदो र आलु खेती हुँदै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका डाँडापाखा यतिबेला किवीका बोटले हरियाली देखिन थालेका छन्।
बजारमा किवीको माग बढ्नुका साथै उचित मूल्य पाउन थालेपछि यहाँका किसान परम्परागत खेती छाडेर व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका हुन्। सुनकोसी गाउँपालिकाको महाभारत क्षेत्रमा पर्ने नागीको हावापानी र माटो किवी खेतीका लागि अनुकूल भएपछि किसानले खेतबारीसँगै पाखो जमिनमा समेत किवीका बिरुवा लगाउन थालेका छन्। परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन कठिन भइरहेका बेला किवी खेतीबाट तुलनात्मक रूपमा राम्रो आम्दानी गर्न सकिने भएपछि किसानको आकर्षण बढ्दै गएको हो।
स्थानीय किसानका अनुसार किवी उत्पादन बढ्दै गएपछि व्यापारी बगैँचामै पुगेर फल खरिद गर्न थालेका छन्। यसले उत्पादन बिक्री गर्न बजारसम्म पुर्याउनुपर्ने झन्झट कम हुनुका साथै किसानलाई व्यावसायिक खेती विस्तार गर्न प्रोत्साहन मिलेसँगै महाभारत क्षेत्रका किसानका लागि किवी फल हरियो सुन झै भएको छ। परम्परागत बालीको तुलनामा किवीबाट राम्रो आम्दानीको सम्भावना देखिएपछि पाखो जमिनको सदुपयोग गर्दै खेती विस्तार गरिरहेको किसानहरू बताउँछन्। कम क्षेत्रफलमा समेत व्यावसायिक उत्पादन गर्न सकिने भएकाले सीमित जमिन भएका किसानका लागि किवी खेती आयआर्जनको विकल्प बन्दै गएको छ। स्थानीय तह र कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगले पनि किवी खेती विस्तारमा टेवा पुगेको छ।
सुनकोसी गाउँपालिका र कृषि विकास कार्यालयको सहयोगमा किसानले किवी खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउने प्रयास गरिरहेका छन्। यद्यपि, खेती विस्तारसँगै किसानलाई गुणस्तरीय बिरुवा, उचित मलखादको प्रयोग, रोग तथा कीरा व्यवस्थापन र उत्पादन प्रविधिसम्बन्धी प्राविधिक ज्ञानको आवश्यकता बढ्दै गएको छ। किवी खेतीबाट अपेक्षित प्रतिफल लिन बिरुवा छनोटदेखि बगैँचा व्यवस्थापन र फल टिप्ने समयसम्म विशेष ध्यान दिनुपर्ने किवी खेती गर्दै आएका किसान साङगे लामा बताउँछन्।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले किवी खेतीको सम्भावना भएका क्षेत्रमा किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए। महाभारत क्षेत्रको हावापानी र माटो किवी खेतीका लागि अनुकूल रहेकाले सम्भावना भएका क्षेत्रमा खेती विस्तार गर्न किसानलाई प्रोत्साहित गरिएको उनको भनाइ छ।
उनका अनुसार किवी खेतीलाई दिगो र व्यावसायिक बनाउन किसानलाई प्राविधिक ज्ञान उपलब्ध गराउनुका साथै उत्पादनको गुणस्तरमा समेत ध्यान दिन आवश्यक छ। खेती विस्तारसँगै उत्पादन र उत्पादकत्व बढाउन उपयुक्त प्रविधि तथा बगैँचा व्यवस्थापनमा किसानको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ। सिन्धुलीको फिक्कल गाँउपालिका र सुनकोसी गाउँपालिकाको महाभारत क्षेत्रमा विशेष गरी किवीको व्यावसायिक खेती हुँदै आएको कृषि कार्यालयले जनाएको छ।
नागीमा किवी खेतीको क्षेत्रफल र उत्पादन बढ्दै गए पनि यसको दीर्घकालीन विकासका लागि बजारीकरण, भण्डारण र प्रशोधनको व्यवस्था महत्त्वपूर्ण हुने किसानहरूको भनाई छ। स्थानीय स्तरमै किवीको उत्पादन, संकलन र बजारीकरणको व्यवस्थित प्रबन्ध गर्न सके नागीलाई सिन्धुली जिल्लाकै प्रमुख किवी उत्पादन क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ। परम्परागत बालीमा सीमित किसानका लागि किवी खेती आम्दानीको नयाँ आधार बन्न थालेसँगै यस क्षेत्रको कृषि उत्पादन प्रणालीमा समेत परिवर्तन देखिन थालेको छ।
कृषि प्राविधिक सहयोग, गुणस्तरीय बिरुवाको उपलब्धता र बजारको सुनिश्चिततामा ध्यान दिन सके नागीका डाँडापाखामा विस्तार हुँदै गएको किवी खेतीले स्थानीय किसानको आयआर्जन बढाउन सकिने देखिएको कृषक बुद्धिमान गोलेको भनाई छ। किसानका अनुसार थोरै क्षेत्रफलमा लगाएको किवीले समेत राम्रो आम्दानी दिँदै आएको छ। मकै कोदो तथा अन्य अन्न बालीको तुलनामा किवीबाट धेरै राम्रो आम्दानी छ, स्थानीय किसान होमबहादुर ठाडाले भने, वार्षिक लाखौँ आम्दानी किवीबाट लिन सकिन्छ।
प्रकाशित: ६ कार्तिक २०८३ १५:०४ शुक्रबार





