सामाजिक सञ्जालमा धेरै दर्शकको ध्यान आकर्षित गर्न भिडियो बनाएको आरोपमा इजिप्टमा पक्राउ परेका दुई ब्राजिलियन महिला जमानतमा छुटेका छन्।
ब्राजिलका सञ्चारमाध्यमका अनुसार मारियाना अल्भेस र उनकी साथी ब्रुना मर्केटेली बुधबार जमानतमा रिहा भएका हुन्। सामाजिक सञ्जालमा ‘मालेभोला’ नामले चिनिने कन्टेन्ट क्रिएटर अल्भेस र मर्केटेलीलाई इजिप्टको अलेक्जान्ड्रियाबाट पक्राउ गरिएको थियो। इजिप्टको गृह मन्त्रालयका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा उनीहरूले सार्वजनिक स्थानमा आपत्तिजनक (अश्लील) हाउभाउ देखाउनुका साथै पैदलयात्रीलाई दुर्व्यवहार गरेका थिए।
मन्त्रालयले अनुसन्धानका क्रममा दुवै महिलाले धेरै दर्शकको ध्यान आकर्षित गर्न भिडियो खिचेर आफ्ना सामाजिक सञ्जाल खातामा पोस्ट गरेको स्वीकार गरेको जानकारी दिएको छ। त्यसपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाउँदै मुद्दा अनुसन्धानका लागि सरकारी अभियोजन निकायमा पठाइएको थियो।
उनीहरूलाई एक लाख १० हजार इजिप्टियन पाउन्ड जमानतमा रिहा गरिएको हो। यद्यपि, जमानतमा छुट्नुको अर्थ मुद्दा समाप्त हुनु वा उनीहरू दोषमुक्त हुनु होइन। उनीहरूमाथिको कानुनी प्रक्रिया जारी रहन सक्नेछ।
अल्भेसले आफू र आफ्नी साथीलाई इजिप्ट भ्रमणका क्रममा प्रहरी चौकीमा लगिएको बताएकी थिइन्। उनले आफ्नो राहदानी जफत गरिएको र लैंगिक पहिचानबारे सोधपुछ गरिएको आरोपसमेत लगाएकी थिइन्।
ब्राजिलको कायरोस्थित दूतावास र महिलाका कानुनी प्रतिनिधिहरूले घटनाबारे चासो राख्दै उनीहरूको कानुनी अवस्थाबारे काम गरिरहेका छन्। केही सञ्चारमाध्यमले दुवै महिलाले जमानतमा छुटेपछि इजिप्ट छाडेर स्वदेश फर्कन पाउने जनाएका छन्।
प्रकाशित: ६ कार्तिक २०८३ १४:५४ शुक्रबार





