लोक गायिका ज्योति मगरले देशको झन्डा ओढेर देश छाडेकोदेखि नागरिकता त्यागेकोसम्म देखिएको टिप्पणी गरेकी छन् । बिहीबार फेसबुकमार्फत ‘मैले जे देखेँ’ भन्दै गायिका मगर यस्तो टिप्पणी गरेकी हुन्।
‘नेपालको झन्डा ओढेर राजनीति गरेको देखेँ, नेपालको झन्डा ओढेर देश छाड्दै गरेको देखेँ,’ मगरले भनेकी छन्, ‘नेपालको झन्डा ओढेर नागरिकता त्यागेको देखेँ, देशको झन्डा ओढेर देश नै खतम छ, भन्दै देशलाई गाली गरेको देखेँ ।’
यस्तै ‘देशको झन्डा ओढेर एक पटक देश विदेशीलाई दियो भने भारतमा ब्रिटिसले विकास गरेजस्तै विकास गर्दिन्छन् भनेको पनि देखे’को उनले लेखेकी छन्।
‘सबैभन्दा दर्द त त्यति बेला भयो–जब नेपालको झन्डा ओढेर नेपाल जलाएको देखेँ,’ उनले लेखेकी छन् ।
देशको झन्डा ओढेर नेपाल जलेको खुसीयालीमा ‘भिक्ट्री पोज’मा तस्बिर खिचेको देखेको उनले अगाडि लेखेकी छन्। ‘यति धेरै झन्डा ओढ्ने राष्ट्रवादीहरू देखेँ, तर राष्ट्रियता मात्रै देखिनँ । राष्ट्र प्रेम मात्रै देखिनँ,’ उनले अगाडि लेखेकी छन्, ‘मुखौटा ओढेका राष्ट्रवादीहरूले राष्ट्रको झन्डा ओढेर राष्ट्र खोक्रो बनाउँदै गरेको लाचारीपूर्वक टुलुटुलु हेर्नु मेरो आजभोलिको दिनचर्या हो ।’
यसपालिको आन्दोलन र चुनाव कसले जित्छ भन्ने आफूलाई थाहा नभएको बताउँदै गायिका मगरले ‘देशले हार्छ, त्यो ग्यारेन्टी हो,’ भनेकी छन्।
प्रकाशित: २२ माघ २०८२ १४:२८ बिहीबार





