काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले ज्यापू दिवसलाई यस समुदायको पहिचान र अस्तित्वसँग जोडेर हेर्नुपर्नेमा जोड दिएकी छन्।
बाइसौँ ज्यापू दिवसका अवसरमा ज्यापू संस्कृति विकास कोषद्वारा आज यहाँ आयोजित समारोहमा उनले ज्यापू समाजको पहिचान र अस्तित्वको संरक्षण एवं प्रवर्द्धन सरकारको दायित्व भएको स्मरण गराइन्। यस दिवसले ज्यापूहरूको मेहनत, माटो र सांस्कृतिक पहिचान दर्शाइरहेको उनको भनाइ छ।
'यःमरि केवल परिकार होइन, हाम्रो समृद्धि, उब्जनी र परिवारको एकताको प्रतीक हो,' समारोहमा शुभकामना व्यक्त गर्दै उपप्रमुख डङ्गोलले भनिन्, 'ज्यापू दिवस र यस पर्व परम्परा मात्र होइन हाम्रो पहिचान हो। विभिन्न जात्रा र पर्वहरुलाई परम्परा मात्र होइन अस्तित्वका रुपमा लिनुपर्छ।' उनले नयाँ धान घरभित्र भित्र्याई बनाइने परिकार यःमरिको सांस्कृतिक र सामाजिक पक्षबारे चर्चा गरिन्। यःमरि पुन्हि र ज्यापू दिवस माटोसँगको प्रतिज्ञा र भूमिप्रति सम्मान प्रकट गर्ने अवसर भएको उपप्रमुख डङ्गोलले बताइन्। यस चाडका सांस्कृतिक महत्वसँगै दार्शनिक मूल्यलाई उजागर गर्नुपर्नेमा उनको जोड थियो।
कोषका अध्यक्ष मङ्गलकृष्ण सिंहले नेपालमा विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने धेरै सांस्कृतिक सम्पदाहरू रहेको उल्लेख गर्दै तिनको संरक्षणमा मौलिक सङ्गीत, चाडपर्व र परम्परागत पूजा विधिले महत्वपूर्ण भूमिका खेलेको बताइन्।
उनले २०६७ सालमा अभौतिक सम्पदाको संरक्षणका लागि राष्ट्रिय सांस्कृतिक नीति ल्याइएको स्मरण गर्दै काठमाडौं महानगरभित्रका ६३ गुठीका लागि आर्थिक वर्ष २०५७/५८ मा प्रदान गरिएको अनुदानबाट कोष स्थापना भएको जानकारी दिइन्।
वसन्तपुर दरबार स्क्वायरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो। यस दिवसका अवसरमा र्याली कार्यक्रमसमेत आयोजना गरिएको थियो।
प्रकाशित: १८ मंसिर २०८२ १७:५२ बिहीबार





