गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको क्षतिसम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा फिर्ता पठाएको छ।
आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै फौजदारी अपराधको अनुसन्धान गर्न आयोगको प्रतिवेदन आवश्यक नपर्ने भएकाले उक्त जाहेरी प्रहरीमै फिर्ता पठाइएको जनाएको हो।
गत असोज २१ गते आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासहित ४ जनाले आयोगमा जाहेरी दिएका थिए। जाहेरीमा ओली र लेखकमाथि मानवता विरुद्धको कसुर र राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न माग गरिएको थियो।
आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजनसमेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन।’
आयोगले आफ्नो कार्यक्षेत्र भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटनाको कारण पत्ता लगाउने र सुझावसहितको प्रतिवेदन पेस गर्ने मात्रै भएको स्पष्ट पारेको छ।
साथै, आयोगले फौजदारी घटनाको अनुसन्धान गर्नका लागि आफ्नो प्रतिवेदन कुर्नु नपर्ने समेत स्पष्ट पारेको छ। ‘फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने,’ आयोगको सूचनामा उल्लेख छ।


प्रकाशित: २३ आश्विन २०८२ १८:१७ बिहीबार





