पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औँ जन्मदिनमा जुम्ला यात्राको भ्लग ‘माई ट्रिप टु जुम्ला’ सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। उनको सरल स्वभावको प्रशंसा भइरहँदा जुम्लाबाट प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामाले यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’ को संज्ञा दिँदै कडा आपत्ति जनाएकी छन्।
लामाले फेसबुकमार्फत हृदयन्द्रको भ्लगलाई राजतन्त्रको झल्को दिने र गणतन्त्रको उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको आरोप लगाएकी छन्। उनले राजतन्त्र कालमा जुम्लामाथि भएको शोषण र क्रूरताको इतिहास स्मरण गर्दै गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट र स्वास्थ्य सेवा पुर्याएको दाबी गरिन्।
‘अहिले हृदयन्द्र शाहको भिडियो देखिएको जुम्ला गणतन्त्र नेपालको उपज हो । नेपाली जनताको शासन व्यवस्थाले निर्माण गरेको दृश्य हो । विगतको जुम्लाको कथा विकराल थियो । काठमाडौंले जुम्लालाई चिन्न अन्कनाउँथ्याे । केन्द्रकृत राज्यसत्ताले जुम्ला को जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्थ्यो । जुम्लालाई दूरदराज , रोक भोक र शोकको पर्याय बनाउनुमा सबैभन्दा धेरै जिम्मेवार हृदयेन्द्रका पुर्खा थिए । विकास के हो जुम्लालाई थाहा थिएन।,’ उनले लेखिन्।
उनले अगाडि लेखेकी छिन्, ‘यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवार कै हुनुपर्ने होइन त यही निरङ्कुशता सामन्ती सोचको विरुद्ध त हाम्रो लडाई छ। गणतान्त्रिक नेपालमा बेलाबेला यो राजतन्त्र कालको झल्को दिलाउने गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ। अझै पनि हामीबाट सामन्ती सोच गाको छैन भन्ने युट्युबेको नेतृत्व नै राजावादीले गरेको देखिएको छ! ’
सांसद लामाले जुम्लाको पहिचान र सभ्यतामाथि प्रश्न उठाउँदै स्थानीय ब्लगर सिर्जना सिज्जुजस्ता व्यक्तिको भ्लगलाई प्राथमिकता नदिएकोमा मिडियाप्रति असन्तुष्टि व्यक्त गरिन्। उनले सामन्ती सोच र राजतन्त्रको प्रभाव अझै कायम रहेको भन्दै गणतान्त्रिक मूल्यको रक्षा गर्नुपर्नेमा जोड दिइन्।
यस्तो छ उनको फेसबुक स्टाटस
सत्य तीतो नै हुन्छ,
राजतन्त्रमा पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका १२ राजाले, अझ भन्ने हो भने, जुम्लामा आक्रमण गर्दाका नायब राजा रणबहादुर शाह र उनकी आमा राजेन्द्रलक्ष्मी शाहको बर्बरतापूर्ण निर्देशनपछि बहादुर शाहसहितको फौजले १८४६ मा निकै क्रूरतासाथ साङ्घातिक हमला गरेको थियो। अहिले त्यहीको झल्को आउने गरी छोरा हृदयन्द्रलाई काखमा चेपेर आमा हिमानी शाहले नयाँ अवतार युट्युबबाट टिपेर ल्याएको, एउटा भरियाको डाडमा टेकेर जुम्लाको भूमिमा फेरि पनि अपवित्र षड्यन्त्रको रचना गरिँदैछ। यो मायाजालमा कुनै पनि सचेत जुम्लावासी फस्ने छैनन् भन्ने मेरो विश्वास छ।राजतन्त्रमा सामन्ती राजाका धेरै पुस्ताले नेपाली जनतामाथि दोहन गरेका छन्। अहिले उनका नातिले एउटा स्टन्टका लागि बनाएको भिडियोले मात्र त्यो दोहनको ऋण चुक्ता हुन सक्दैन। उनीजस्तो सयौं पुस्ताले पनि देश र जनताको सेवा गरिहाले पनि राज्य र जनतामाथि गरेको शोषण, दमन र अत्याचारको भार चुक्ता गर्न सक्दैन।
२३८ वर्षको राजतन्त्रले जुम्लामा सिटामोल पुर्याउन सकेन, तर गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट, स्वास्थ्य सेवा लगायत अत्यावश्यक सामग्रीहरू पुर्यायो। अहिले हृदयन्द्र शाहको भिडियोमा देखिएको जुम्ला गणतन्त्र नेपालको उपज हो। यो नेपाली जनताको शासन व्यवस्थाले निर्माण गरेको दृश्य हो। विगतको जुम्लाको कथा विकराल थियो। काठमाडौंले जुम्लालाई चिन्न अन्कनाउँथ्यो। केन्द्रकृत राज्यसत्ताले जुम्लाका जनतालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्थ्यो। जुम्लालाई दुर्गम, रोग, भोक र शोकको पर्याय बनाउनमा सबैभन्दा धेरै जिम्मेवार हृदयन्द्रका पुर्खा थिए। विकास के हो, जुम्लालाई थाहा थिएन। सामाजिक, आर्थिक, राजनीतिक विकास, मानवअधिकार कस्तो हुन्छ? समावेशीकरण के हो? राजतन्त्रमा जुम्लालाई थाहा थिएन। यसरी जुम्लालाई समस्याको भुमरीमा पार्ने तिनै हृदयन्द्रका बाउबाजे नै हुन्। यस्ता धेरै यथार्थहरू छन्, जसको चर्चा हामी गर्ने नै छौं।
जुम्ला हिजोदेखि आजसम्म आफ्नो सभ्यता, पहिचान र मौलिकतामा अडिग छ। यसको आफ्नै परिचय छ। यसलाई चिनाउन उनको पूरै वंश, जिजुबाजेहरूले देशलाई कंगाल हुने गरी लुटेर दरबारमा थुपारेको धनले विदेशमा सजिलै बिलासी जीवन बिताइरहेको, भोटे कुकुरको छाउरो हुर्केजस्तै हुर्काइएको साँढे प्रवृत्तिले चिनाउनुपर्छ र? जुम्लालाई चिनाउने विषयमा हृदयन्द्र शाहको भन्दा ब्लगर सिर्जना सिज्जु लगायत धेरैको ब्लग अझ राम्रो र स्पष्ट छ। तर विडम्बना, सिर्जनाको ब्लगले न त कुनै सामाजिक अभियन्ताले चर्चा गर्यो, न त कुनै मिडियाको हेडलाइन बन्यो। किनभने उनी राजपरिवारको सदस्य होइनन्! यति धेरै मिडियाको हेडलाइन बन्नलाई पनि सामन्ती राजपरिवारकै हुनुपर्ने? यही निरंकुशता र सामन्ती सोचको विरुद्ध हाम्रो लडाइँ छ।
गणतान्त्रिक नेपालमा बेलाबेला राजतन्त्रकालको झल्को दिने यस्ता गतिविधिले हामीलाई सोच्न बाध्य बनाउँछ। अझै पनि हामीबाट सामन्ती सोच गएको छैन भन्ने कुरा युट्युबको नेतृत्व नै राजावादीले गरेको देखिन्छ! सामन्ती राजाले हिजो जनतालाई दास बनाएर कुम्लाएको अथाह सम्पत्ति अहिले केही सामाजिक अभियन्ता र युट्युबरहरूमा लगानी गरिएको पनि सुनिन्छ। हुँदाहुँदा एउटालाई त करोडौं लगानी गरेर संसद्भित्रै भित्र्याइसके, जो आज अराजकता मचाउनमा रेकर्ड कायम गर्न राजा र गणतन्त्र दुवैको दानापानीमा उफ्रिरहेको छ।
हृदयन्द्र शाह पूर्व-राजपरिवारका सदस्य हुन्। यसर्थ, राजपरिवारको सदस्यले पाइला टेकेको भूमि पवित्र हुन्छ र यिनको झूठो खाएसी विष्णु भगवानको प्रसाद हो भन्ने चेतनाबाट हामी कहिले माथि उठ्ने?
सिंहदरबार अब वंशको नामले होइन,
जनताको विश्वासले पुगिन्छ।
##गणतन्त्र जिन्दाबाद✊
प्रकाशित: १६ श्रावण २०८२ १७:३५ शुक्रबार





