नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटतर्फ उन्मुख भइरहेको भन्दै सम्पूर्ण वामपन्थी शक्तिहरूलाई सही कार्यदिशाका आधारमा एकताबद्ध हुन आग्रह गरेका छन्।
उनले आइतबार एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि देशका ज्वलन्त समस्याहरू समाधान हुने आम जनतामा आशा रहे पनि त्यसको विपरीत राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका विभिन्न निकायबीचको समन्वय कमजोर बन्दै गएको बताएका छन्।
उनले श्रमजीवी जनता निराशाको अवस्थामा पुगेको भन्दै नागरिकले आत्महत्या गर्न बाध्य हुने अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै विदेशी हस्तक्षेप र आन्तरिक अस्तव्यस्तताको सामना गर्न देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरूबीच एकता आवश्यक रहेको उल्लेख गरेका छन्।
खनालले वामपन्थी दलहरूले आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर साझा पहलमार्फत वाम एकताको प्रक्रिया अघि बढाउनुपर्ने भन्दै विगतमा वामपन्थी दलहरूले सिद्धान्तभन्दा गुटगत स्वार्थलाई प्राथमिकता दिँदै दक्षिणपन्थी शक्तिसँग सहकार्य गरेको आरोप लगाउँदै त्यसबाट कम्युनिष्ट आन्दोलनको विश्वसनीयतामा असर पुगेको बताएका छन्।
उनले आफ्नै पार्टी नेपाली कम्युनिष्ट पार्टीले पनि विगतमा यस्तै गल्ती गरेको स्वीकार गर्दै अहिले पुनः दक्षिणपन्थी शक्तिसँगको राजनीतिक साँठगाँठले पार्टीको प्रतिष्ठामा थप आँच पुग्ने खतरा रहेको बताएका छन्।
पछिल्लो समय प्रदेश सरकार गठनलगायत नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाई वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने खनालको माग छ।
प्रकाशित: ३ श्रावण २०८३ १३:३४ आइतबार





