२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

खगेन्द्र सुनार प्रकरणमा नेपाल प्रहरीलाई झाँक्रीको आग्रह : आमा र बच्चाको सुरक्षामा तत्काल ध्यान दिनुस्

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनारसँग सम्बन्धित भनिएको अडियो सार्वजनिक भएपछि आमा र बच्चाको सुरक्षामा तत्काल ध्यान दिन सरकार र नेपाल प्रहरीसँग आग्रह गरेकी छन्।

झाँक्रीले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेकी हुन्। सार्वजनिक भएको अडियोमा एक महिला सांसद र उनका नाबालक बच्चालाई अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको सुनिने उनले बताएकी छन्। उक्त अडियो जनआस्थाले सार्वजनिक गरेको र यस्तै अन्य सामग्रीसमेत रहेको दाबी गरेको उनले उल्लेख गरेकी छन्।

'त्यो अडियो त मैले सुन्न पनि सकिनँ। अझ बच्चालाई समेत मारिदिने, रगत खाने कुरा गरेको सुनिन्छ,' झाँक्रीले लेखेकी छन्। सार्वजनिक रूपमा राख्न नमिल्ने सामग्रीसमेत भएकाले अडियो सम्पादन गरिएको देखिएको उनले बताइन्।

अडियोमा महिला डरका कारण बोल्न नसकेको जस्तो सुनिने उल्लेख गर्दै झाँक्रीले नाबालक बच्चालाई समेत लक्षित गरी गालीगलौज गरिएको विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्।

'अडियोमा महिला डरले बोल्नै नसकेको जस्तो देखिन्छ। बच्चालाई समेत त्यो तहको गालिगलौज सहन सक्ने कुरा पटक्कै होइन। बच्चालाई बिनाबाउको बेश्याको छोरा भनेको सुन्दा मेरो समेत रगत तात्यो। उनीहरूको सबन्धमा बच्चाको यहाँ के को दोष? हिंसाको पनि हद हुन्छ नि? यो घटना सामान्य छैन। बच्चामाथि एकदमै सुरक्षा खतरा छ। सरकार, नेपाल प्रहरीले तत्काल महिला र बच्चाको ज्यानको सुरक्षामा ध्यान दियोस्,' उनले भनिन्।

झाँक्रीले घटनालाई सामान्य व्यक्तिगत मामिलाका रूपमा मात्र हेर्न नमिल्ने बताउँदै यसमा हिंसा, असुरक्षा र मानसिक दबाबको प्रश्नसमेत जोडिएको उल्लेख गरेकी छन्।

'अपराधीमाथि कारबाहीभन्दा पहिले पीडितको सुरक्षाको सवाल आउँछ,' झाँक्रीले भनेकी छन्। उनले नेपाल प्रहरीलाई महिला र बच्चाको ज्यानको सुरक्षाका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन तथा त्यसपछि घटनाबारे अनुसन्धान गरी दोषी देखिएकामाथि कानुनी कारबाही गर्न आग्रह गरेकी छन्।

झाँक्रीले रास्वपा सभापति रवि लामिछानेको पनि यस विषयमा तत्काल ध्यानाकर्षण हुनुपर्ने बताउँदै पार्टीले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरेकी छन्।

'यो तहको हिंसा किमार्थ स्वीकार्य हुन सक्दैन,' उनले भनिनन्। उनले नेपाल प्रहरीलाई आमा र बच्चाको सुरक्षामा ध्यान दिन तथा आवश्यक परे तत्काल उद्धारको व्यवस्था गर्नसमेत आग्रह गरेकी छन्। 'प्लिज नेपाल प्रहरी, बच्चा र आमाको सुरक्षामा ध्यान दिनु पर्यो। तत्काल रेस्क्यू होस। घटना जे पनि हुन सक्छ,' उनले भनिन्।

प्रकाशित: २७ आश्विन २०८३ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App