११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

बीपी राजमार्ग पुनर्निर्माण गर्न जापानले साढे दुई अर्ब बढी अनुदान दिने

बाढी पहिरोले क्षतविक्षत भएको बीपी राजमार्गको पुनर्निर्माण गर्न जापान सरकारले दुई अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ।

अनुदान सहायता उपलब्ध गराउने विषयमा नेपाल सरकार र जापान सरकारबीच सम्झौता भएको छ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा जापानी अधिकारीसँग सम्झौता भएको हो।

महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको वि.पी. राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा भएको हो।

गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। यो वर्ष पनि थप क्षति भएको छ।

क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मत सम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गर्ने सम्झौता भएको हो।

अनुदान सहायतासम्बन्धी एक्सचेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूतमहामहिम तोरु माएदाले हस्ताक्षर गरे।

हस्ताक्षर समारोहमा अर्थ मन्त्री खनालले आफ्नो सम्बोधनमा जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको बताए।

जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे।

जापानी राजदूतले सहयोगले बीपी राजमार्गका क्षतिग्रस्त भागहरू पुनः स्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र जापानबीचको दशकौं पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे।

प्रकाशित: १३ कार्तिक २०८२ १७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App