सिके राउत नेतृत्वको जनमत पार्टीले जेन-जी जनमत संघ नामक युवा संगठन सक्रिय बनाएको छ।
पार्टी अध्यक्ष राउतले आइतबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै देशमा जारी बाढीपहिरोमा राहत तथा उद्धारका लागि खटिन जेन-जी जनमत संघका युवाहरूलाई आह्वान गरे।
उनले जनमत पार्टी भनेकै जेन-जीको पार्टी भएको बताए। ‘अब जे गर्छ, जेन-जीले गर्छ !’ भन्ने नारासहित जनमत पार्टीले यो युवा संगठनमार्फत राजनीतिक र शासकीय सुधारका महत्त्वाकांक्षी एजेन्डाहरू समेत अघि सारेको छ।
जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचनमा राइट टू रिजेक्ट र रिक्लको अधिकार, ३० हजार युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने, विज्ञलाई मन्त्री बनाउने तथा न्यायपालिका र संवैधानिक निकायका प्रमुखहरू पनि निर्वाचित हुने जस्ता विषयहरू समावेश छन्।
अध्यक्ष राउतले आफ्नो सामाजिक सञ्जालमा लेख्दै देशमा आएको बाढी, पहिरो र डुबान क्षेत्रमा स्थानीय सरकार, प्रहरी र प्रशासनसँग समन्वय गरी सुरक्षित रूपमा राहत तथा उद्धार कार्यमा खटिन सम्पूर्ण पार्टी पंक्ति र विशेषगरी जेन-जी जनमत संघलाई आह्वान गरे।
प्रकाशित: १९ आश्विन २०८२ १७:५४ आइतबार





