जनता समाजवादी पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा शिवलाल थापा मगर संयोजकत्वको जनता समाजवादी पार्टी र मनिष लिम्बूको अध्यक्षतामा रहेको लिम्बूवान क्रान्तिकारी पार्टी नेकपामा समाहित भएको घोषणा गरिएको हो।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल र लिुम्बुवान क्रान्तिकारी पार्टीका अध्यक्ष लिम्बू र जनता समाजवादी पार्टीका उपाध्यक्ष मगरले एकतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
एकता घोषणा कार्यक्रममा संजोजक दाहालले नेकपा मुलुकको पहिलो शक्ति बन्ने अभियानका साथ अघि बढिरहेको बताए। वामपन्थी शक्तिको एकताबाट मात्रै समाजवादको यात्रा अघि बढाउन सकिने उनको भनाइ थियो।
सह-संयोजक नेपालले विगतका कमिकमजोरीलाई स्वीकार्दै जनआकाङ्क्षालाई सर्वोपरि राखेर अघि बढ्ने सङ्कल्प राखेकाले देशव्यापीरूपमा नेकपाको लहर चलेको बताए।
‘यो पार्टीको इमान्दारिता, निष्ठा र समर्पणलाई विश्वास गरेर धेरैभन्दा धेरै जनसमुदाय नेकपाप्रति आकर्षित भइरहनुभएको छ’, उनले भने।
प्रकाशित: २८ पुस २०८२ २०:३५ सोमबार





