३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

जनार्दन भन्छन्: पार्टी फुट्ने हल्ला ‘भ्रमको खेती’ मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ

फाइल।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्ने कुरा भ्रामक भएको बताएका छन्। उनले यस्ता प्रचारबाट सचेत रहन कार्यकर्तालाई आग्रह समेत गरे।

पार्टीभित्र देखिएका वैचारिक अस्पष्टता, राजनीतिक अन्योल र सांगठनिक अराजकतालाई आगामी विशेष महाधिवेशनमार्फत समाधान गरिने र पार्टीलाई पुनर्गठन गरिने उनको भनाइ थियो।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै नेता शर्माले पार्टीभित्र र बाहिरबाट लगातार फुटको प्रचार भइरहेकोप्रति आपत्ति जनाए।

‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गरिँदैछ,’ उनले लेखेका छन्, ‘पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरू प्रति सचेत हुन आग्रह गर्दछु।’

उनले पार्टीको केन्द्रीय समितिले गत वर्ष नै ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरिसकेको स्मरण गराउँदै अब पार्टीभित्र एजेन्डामा आधारित बहस सुरु गर्नुपर्नेमा जोड दिए। ‘अब पार्टीमा एजेन्डा केन्द्रित बहस गरौँ, जसले पार्टीको पुनर्गठन, सुदृढीकरण र व्यवस्थापनमा मद्दत पुर्‍याउनेछ,’ उनले भने।

उपमहासचिव शर्माले हुलाकी र मध्यपहाडी लोकमार्ग अभियानले पार्टीमा नयाँ ऊर्जा ल्याएको तर दुईबुँदे सहमतिपछि पार्टीको साख गिरेको स्वीकार गर्दै अब गम्भीर आत्मसमीक्षाको बेला आएको उल्लेख गरे।

नेता शर्माले देश, जनता र राजनीतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि तीनवटा 'पुनर्' को सूत्र अघि सार्नुभएको छ: संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना, र पार्टीको पुनर्गठन।

उनले अर्थतन्त्रको पुनर्संरचनाले समाजवादउन्मुख अर्थतन्त्रको जग बसाल्ने, उत्पादन र रोजगारी बढाउने र आत्मनिर्भर समाज निर्माण गर्ने बताए।

त्यस्तै, संविधान संशोधनमार्फत शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानका मुद्दालाई सम्बोधन गरेर राष्ट्रलाई एकताबद्ध गर्न सकिने उनको भनाइ छ।

‘विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, सांगठनिक अराजकता र विधिहीनतालाई अन्त्य गर्दै नयाँ पुस्ताको भावना र सपनालाई सम्बोधन गर्ने कार्ययोजना तयार पार्नेछ,’ शर्माले भने।

प्रकाशित: १३ श्रावण २०८२ १९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App