५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

जेन-जीको आवाज सुन्दै राजीनामा दिन र अर्को पटक नेतृत्वमा नआउने संकल्प गर्न प्रचण्डलाई जनार्दनको सुझाव

एउटै व्यक्ति लामो समय नेतृत्वमा हुँदा जेन-जी आन्दोलन भएको निष्कर्ष निकाल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्षसहित पदाधिकारीले राजीनामा दिएर अर्को पटक नेतृत्वमा नआउने संकल्प गर्नुपर्ने बताएका छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो १० बुँदे प्रस्ताव पेस गर्दै शर्माले जेन-जी आन्दोलनको माग र उत्पन्न संकट एकै व्यक्ति लामो समय नेतृत्वमा रहनुको उपज भएको उल्लेख गरेका छन् ।  

आफ्नो प्रस्तावमा शर्माले लेखेका छन्, ‘जेन-जी विद्रोहले उठाएका दुई प्रमुख एजेन्डाहरू छन् । जसले सिंगो देश, समाज र विश्वको ध्यानाकर्षण गरेको छ । यो बैठकमा हामीले पनि ती मुख्य दुई एजेन्डाभन्दा बाहिरका विषयहरूमा मात्र छलफल गर्नुको कुनै अर्थ छैन । जेन-जी विद्रोहबाट अझ मुखरित भएर उठेको पहिलो विषय भ्रष्टाचार, कमिसनतन्त्र, दलतन्त्र, नेतातन्त्र, दलालीतन्त्र र परिवारवादकै कारणले देश अघि बढ्न नसकेको भन्ने एउटा निष्कर्ष हो भने दोस्रो विषय राजनीति दशकौंसम्म निश्चित व्यक्तिको हातमा रहिराख्ने कुराले उत्पन्न गरेको संकट अर्थात् नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र पुनर्गठनको कुरा हो ।’

विगतदेखि नै आफूले यो विषयलाई पार्टीमा प्रष्टसँग उठाउँदै आएको बताउँदै उनले २० औं र ३० औं वर्षदेखि नेतृत्वमा बस्नेले राजीनामा दिनुपर्ने र अब नेतृत्वमा नआउने प्रण गर्नुपर्ने दोहोर्‍याए ।  

शर्माले भनेका छन्, ‘हाम्रो पार्टीको महाधिवेशनको घोषणा गर्ने प्रक्रियासँगै अध्यक्ष प्रचण्ड लगायत २०औं, ३०औं वर्षदेखि एउटै पदमा रहँदै आएका हामी सबै पदाधिकारी एकसाथ राजीनामा दिऔं र आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामा सामेल नहुने निर्णय यसै बैठकबाट गरौँ । पार्टीको सैद्धान्तिक, राजनीतिक एवं वैचारिक पृष्ठपोषणका लागि नयाँ पुस्तालाई सहयोग गर्ने प्रतिवद्धतासहित हालका अध्यक्ष तथा सबै पदाधिकारीहरूको एक 'निर्देशक कमिटी'को रूपमा काम गर्ने गरी संयन्त्र निर्माण गर्ने अन्तरिम विधान बनाएर अगाडि बढौँ।’

'निर्देशक कमिटी'ले महाधिवेशनबाट निर्वाचित हुने नयाँ युवा पुस्ताको नेतृत्वलाई सघाउने प्रतिबद्धता जाहेर गर्नुपर्ने उनको भनाइ छ । यो विकल्पले पुरानो नेतृत्वको योगदान, सम्मान र मूल्याङ्कन मात्र नभई पार्टीको नवजीवनको सुनिश्चितता एकसाथ गर्ने उनले बताएका छन् ।

शर्माको लिखित प्रस्ताव पढ्नुहोस् 

 

 

 

 

प्रकाशित: ९ आश्विन २०८२ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App