३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

चुनाव लड्न जाने मन्त्रीहरूको गल्ती छैन, दोष मलाई लगाउनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री सुशिला कार्कीले सरकार छाडेर चुनावी मैदानमा होमिएका मन्त्रीहरूको बचाउ गर्दै उनीहरूलाई दोष नदिन आग्रह गरेकी छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारका मन्त्रीहरू कुलमान घिसिङ, महाविर पुन, जगदिश खरेल र बब्लु गुप्ताले पदबाट राजीनामा दिएर राजनीतिमा लाग्दा बेइमानी नहुने बताएकी हुन्।

उनले मन्त्रीहरू बाहिरिनुमा उनीहरूको नभई आफ्नै वचन र समझदारी मुख्य कारण रहेको सुनाइन्।

‘यदि दोष लाउनुहुन्छ भने मलाई दोष लाउनुस्, उनीहरूलाई दोष नलाउनुस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘किनभने सरकार बनाउने बेलामै मैले नै उहाँहरूलाई वचन दिएको थिएँ, जुन दिन तपाईंहरू चुनावमा जान चाहनुहुन्छ, त्यो दिन म बकाइदा बिदा गर्नेछु।’

प्रधानमन्त्रीले सरकारमा बस्दासम्म उनीहरूले इमानदारितापूर्वक काम गरेको बताइन्। ‘उहाँहरूले मन्त्रालयको दुई कप चिया खाएर काम गर्नुभयो। जानुभयो, हामीले धन्यवाद भनेर पठाइदियौँ,’ कार्कीले भनिन्, ‘अहिले आएर उहाँहरूले बेइमानी गरे, धोका दिए भन्नु गलत भाष्य हो। यो उहाँहरूको राजनीतिक अधिकारको कुरा हो।’

उनले सरकार गठनका बेला जेन-जीको ठूलो दबाबका कारण उनीहरू सरकारमा आएको स्मरण गराइन्। ‘त्यतिबेला उहाँहरू आउन मान्नुभएको थिएन। मैले नै हात जोडेर जति दिन बस्नुहुन्छ बसिदिनुस् भनेर ल्याएकी हुँ,’ उनले सुनाइन्।

आफू र आफ्नो मन्त्रिपरिषद्का सदस्यहरू कुनै राजनीतिक दलको कार्यकर्ता नभएको तर परिस्थितिले जिम्मेवारीमा आएको बताउँदै उनले चुनावमा जानेहरूलाई शंकाको दृष्टिले नहेर्न र उनीहरूको निष्ठामा प्रश्न नउठाउन सदनमार्फत आग्रह गरिन्।

‘उहाँहरूको आफ्नै जीवन छ, उमेर छ र राजनीतिक संस्कार छ। चुनाव लड्न जान पाउनु उहाँहरूको अधिकार हो,’ प्रधानमन्त्रीले भनिन्।

प्रकाशित: १९ माघ २०८२ १६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App