१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

भ्रष्टाचारको जाँच देशभित्र मात्र गरेर पुग्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा कसको कति दोष रह्यो र कसलाई कारबाही गर्नुपर्न हो भन्नेबारे जाँचबुझ आयोगको प्रतिवेदनपछि मात्रै थाहा हुने बताएकी छन्। कार्कीले नागरिक दैनिकको ‘फ्रन्टलाइन’ कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको विशेष कुराकानीमा छानबिनका लागि बलियो आयोग गठन गरेको र त्यही आयोगको रिपोर्ट कुरिरहेको बताएकी हुन्।

‘हामीले बलियो आयोग गठन गरेका छौं। आयोगले रिपोर्ट दिन्छ। अपराध गर्नेलाई सजाय हुनुपर्छ। मेरो परिवारको सन्तान नै किन नहोस्? चाहे म नै किन न हो? अपराध भए जो कोहीलाई सजाय हुनुपर्छ भन्ने वृत्तको मान्छे हो म। छानबिनपछि कस्तो अपराध, कसले दोष गर्‍यो, के गर्‍यो भन्ने देखिन्छ’, उनले भनिन् ‘त्यो रिपोर्ट आएपछि सजाय हुनुपर्छ। मान्छे मारिएको छ। मान्छे पनि मान्छेबाट मारिएको हो। अरूले मारेको त होइन। हत्या भएको हो। हत्यामा छोडियो भने त राम्रो हुँदैन। त्यो त दण्डहीनता भयो नि। दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन। छानबिनपछि जसलाई सजाय हुनुपर्ने हो, हुनुपर्छ।’

जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको छ। उनले आफू वकिल र न्यायाधीश पनि भएकाले कसैविरुद्ध मुद्दा लगाउनका लागि पहिले जाहेरी दिनुपर्ने बताइन्। ‘प्रहरी, सिआइबी वा अख्तियारले पहिले सूचना लिन्छ। इन्भेस्टिगेसन स्टार्ट हुन्छ, डकुमेन्टहरू तयार हुन्छन्। डकुमेन्टहरू तयार भएपछि बयान गराइन्छ। बयानपछि त्यसको मूल्यांकन गरेर अभियोगपत्र तयार हुन्छ। यो तयार हुन समय लाग्छ। प्रहरी, अख्तियार, सिआइबीसँग सयकडौं मुद्दा छन्। हामी आएको अहिले दुई महिना, चार/पाँच दिन भयो होला’, उनले भनिन्।

प्रधानमन्त्री कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि दैनिक सम्पर्क गरिरहेको बताइन्। उनले भनिन्, ‘अख्तियारमा डे टु डे फोन गरेर हामीले कन्सर्न राख्छौं। आज के के भयो, कतिवटा भयो? कसो भयो भनेर सोधिरहेका छौं। थाहा भइहाल्छ, अहिले किन भन्ने? कसैको नाम लिएर किन भन्नुपर्‍यो? बयानहरू निरन्तर भइरहेको छ। खरानी जाँच्नुपर्ने जाँचेर आइसकेको छ। उसले गर्नुपर्ने गरिरहेको छ। सबै काम सुचारु छ। काम नभएको होइन।’

उनले कर्मचारी फेर्ने काम पनि भइरहेको बताइन्। ‘सरकारी कर्मचारीहरू फेर्ने काम पनि भइरहेको छ। सुशासन भनेको एक दिनलाई होइन, सधैंलाई चाहिन्छ। भ्रष्टाचार नियन्त्रणका लागि पनि निरन्तर काम गर्नुपर्छ। यो देशभित्र जाँचेर मात्रै हुँदैन, विदेशमा पनि जानुपर्छ। विदेशमा पनि इन्भेस्टिगेसन गर्नुपर्ने केसहरू छन्’, उनले भनिन्।

प्रधानमन्त्री कार्कीले आफूहरु यतिबेला अचानो जस्तो भएको पनि बताइन्। ‘हामी त अचानो जस्तो भयौं। एक पक्षले तिमीहरूको काम निर्वाचन गराउने मात्रै हो भन्छ। सुशासन हेर्ने होइन। भ्रष्टाचार पनि होइन भन्छ। छानबिन पनि होइन, खाली निर्वाचन गराउने मात्रै भन्छ। अर्को पक्ष आएर खबरदार! त्यो सुशासन पनि हेर, जेनजीले भनेको भ्रष्टाचार पनि हेर, सबै हेर जम्मै भएजति गर भन्छ। हुँदाहुँदै अहिले मेलम्ची पनि जागेको छ। बन्चरे डाँडो पनि जागेको छ। आन्दोलन सबै जागेको छ’, उनले भनिन्।

यसै सन्दर्भमा उनले थपिन्, ‘जबकि हामी त्यस्तो पावरफुल गभर्मेन्ट होइनौं। जनताबाट भोट पाएर एकदम पावर लिएर आएका होइनौं। हामीलाई त राष्ट्रपतिले निर्वाचनको र दैनिक काम हेर भनेर नियुक्त गरेको हो। हाम्रो सरकारसँग असन्तुष्टहरूलाई भाग खोसियो भन्ने परेको छ। तिनलाई पुरानै सरकार ठिक थियो। तिनीहरूले पुरानो सरकारसँग इन्जोय गरिरहेका थिए।’

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार पाइला पाइलामा भएको बताइन्। ‘भ्रष्टाचार व्यापक छ। पाइला पाइलामा छ। देश सिद्धिएको भ्रष्टाचारले हो। विदेशी तागत, विदेशी शक्तिले होइन। भ्रष्टाचार कसले गर्‍यो त्यो भन्दिनँ। अख्तियार, सिआइबीले भन्छ। देशचाहिँ भ्रष्टाचारले बिग्रेको हो। हामीले सिस्टमै, पद्धति नै बसाल्न सकेनौं। भ्रष्टाचार भए अरू मुलुकमा आगो बाल्छन्, हामीकहाँ आधासरो मान्छे खुस छन्। जनतामा पनि त्यो भावना हुनुपर्‍यो नि। आफ्नाले गरेकोमा चाहिँ ठिक, अर्काले गरेकोमा बेठिक भन्ने भाष्य छ। यो हाम्रो कल्चर जस्तो हुन थाल्यो। नियन्त्रण गर्ने त जनताको पनि दायित्व हो’, उनले भनिन्।

तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब आइरहेको छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले छानबिन आयोगले काम गरिरहेकाले तत्काल सरकारले कुनै कदम नचाल्ने बताइन्। गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग काम गर्न स्वतन्त्र रहेको बताउँदै उनले प्रतिवेदनका आधारमा दोषी देखिए ओली र लेखकलाई पनि पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्कीले  तत्कालका लागि सरकारको ध्यान निर्वाचनतर्फ केन्द्रित भएकाले सबैलाई निर्वाचनमा सहभागी हुन विशेष आग्रह गरिन्।

प्रकाशित: ४ मंसिर २०८२ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App