४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न आवश्यक छ: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

आज नगरकोटमा आयोजना गरिएको आर्थिक वर्ष २०८१/८२ को वर्षीक समिक्षा बैठक तथा मन्त्रालय स्तरीय विकास, समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले खानेपानी क्षेत्रमा देखिएका समस्याहरू अझै पनि गम्भीर रहेकाले समाधानका लागि सबै पक्ष गम्भीर र प्रतिबद्ध हुनुपर्ने बताए।

“खानेपानीका सवालमा अझै पनि गम्भीर चुनौतीहरू रहेका छन् । त्यसैले सबै तहका निकाय र कर्मचारीहरूले कार्यप्रति प्रतिबद्धता, पारदर्शिता र जिम्मेवारी निर्वाह गर्न आवश्यक छ,” उनले भने, “खानेपानीका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि बजेटको समयमै प्रयोग, महसुलको व्यवस्थापन, र विभागीय समन्वयमा तत्परता कायम राख्न सबैले ध्यान दिन आवश्यक छ ।”

यसैगरी मन्त्री यादवले तराई–मधेशका विभिन्न स्थानहरूमा निर्माण भएका ओभरहेड ट्याङ्क योजनाहरू वितरण प्रणालीको अभावमा सञ्चालनमा आउन नसकेकाले यस्ता योजनाहरू पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सम्बन्धित निकायलाई रणनीतिक तथा प्राविधिक कदमहरू चाँडै चाल्न निर्देशन समेत दिए।

उनले भने, “सम्पूर्ण योजनाहरू जनतालाई लक्षित गरी निर्माण गरिएका हुन् । तर तिनको उपयोग नगरी बस्नु भनेको स्रोतको दुरुपयोग हो । त्यसैले जति सक्दो चाँडो ती संरचनाहरू सञ्चालनमा ल्याइ नागरिकलाई सुविधा दिनुपर्छ ।”

जलवायु परिवर्तनका कारण तराई–मधेस सहित पहाडी र हिमाली क्षेत्रमा खानेपानीका मुहानहरु सुक्ने समस्या बढ्दो क्रममा रहेकाले यसका लागि मुहान संरक्षण र रिचार्जका कार्यक्रमहरुलाई थप प्राथमिकता दिएर काम आगाडि बढाउन मन्त्री यादवले आग्रह गरे।

उनले भने, “जलवायु परिवर्तनका कारण तराई–मधेस सहित पहाडी र हिमाली क्षेत्रमा पानीका मुहानहरू क्रमश: सुक्दै गएका छन् । यस्तो अवस्थामा खानेपानीको दीर्घकालीन सुनिश्चितताको लागि मुहान संरक्षण तथा रिचार्जका कार्यक्रमहरूलाई प्राथमिकता दिनु जरुरी छ ।”

खानेपानी सेवामा सुधार ल्याउन सबै पक्षको साझा उत्तरदायित्व रहेको स्पष्ट पार्दै मन्त्री यादवले भने, “हाम्रो साझा लक्ष्य भनेको सबै नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउनु हो । यो लक्ष्य प्राप्तिका लागि सरकार मात्र होइन, स्थानीय तह, उपभोक्ता समिति, विकास साझेदार र समुदायको समेत सक्रिय सहकार्य अपरिहार्य छ ।”

प्रकाशित: ६ भाद्र २०८२ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App